एनआरएनए यूकेको सदस्यता लिने अन्तिम म्याद आज मध्यरातसम्म


लन्डन । एनआरएनए यूकेले सदस्यता नवीकरण वा नयाँ दर्ता गरेर एकता अधिवेशनमा भाग लिन अपिल गरेको छ ।
सदस्यता लिने अन्तिम म्याद आज मध्यरात १२ बजेसम्म रहेको एनआरएनए यूकेले जनाएको छ ।
अहिलेसम्म सदस्यता नवीकरण वा नयाँ दर्ता नगरेको भए members.nrnauk.org मा गएर सदस्यता आवेदन दिन अध्यक्ष प्रेम गाहामगरले अपिल गरेका छन् ।
‘यदि तपाईंले अघिल्लो कार्यकालमा सदस्यता लिइ सक्नु भएको छ भने तपाईंको सदस्यता समयमै स्वतः नवीकरण हुनेछ र २३ मार्च २०२५ मा हुने एनआरएनए यूके चुनावमा मतदान गर्न योग्य हुनु हुनेछ’- गाहामगरले भने ।
गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा अल्डरसटमा गर्न लागेको एकता अधिवेशन तयारी अन्तिम चरणमा छ।
एनआरएनएभित्रको सबै मतभेद अन्त्य गरि संघलाई लयमा फर्काउन सम्मानित सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गर्न आदेश दिएपछि उच्चस्तरीय समितिले काठमाडौंमा ३ देखि ५ मेमा र यूकेले उच्चस्तरीय समितिकै निर्देशनमा २३ मार्च २०२५ मा बेलायतमा एकता अधिवेशन गर्न लागेको हो ।
द प्यालेस हलमा अधिवेशन शुरु अघि सबैजना प्रिन्सेस गार्डेनस्थित प्रथम भिसी कुलवीर थापाको सालिक अगाडि ११ बजे बिहान भेला भएर पन्चेबाजासहित पाइपरका साथ वंशजको नेपाली नागरिकताको अभियान शुभारम्भ गरेर हलतिर प्रवेश गर्ने योजना बनाइएको गाहामगरले जनाए ।
अधिवेशनका लागि नेपालबाट एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घले र वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने सहभागी हुने पक्का छ ।
‘वंशजको नेपाली नागरिकता निरन्तरतालाई मुख्य एजेण्डा बनाएर हामीले एकता अधिवेशन गर्न लागेका हौं । यसमा कुनै व्यक्तिगत स्वार्थ लुकेको छैन् ’- गाहामगरले भने- ‘एनआरएनएको गरिमा पुनः स्थापित गर्न र वंशजको नागरिकता माग पुरा गराउन पनि अधिवेशनमा तपाईं र परिवारको व्यक्तिगत तथा संस्थागत सहभागिताका लागि हामी निमन्त्रण गर्दछौं ।’