शनिबार, चैत १, २०८१
15:02 | २०:४७

बैंककमा दोस्रो एनआरएनए अन्तर्राष्ट्रिय युवा सम्मेलन

नेपाली लिङ्क मार्च १५, २०२५

बैंकक- गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा १५ मार्च २०२५ शनिबारबाट सुरु भएको छ । ‘इम्पावरिङ द युथ, सेपिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ ।

नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य छ ।

सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् र नेपालका स्थानीय युवाबीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने अपेक्षा राखिएको छ ।

यस्तै सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा लिइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले सम्मेलनलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै विदेशमा रहेका युवाहरूसँग संवाद समेत गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिम्खडा लगायत संघका पदाधिकारी टोली बैंकक पुगेका छन् । अन्त्यमा बैंकक घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू