शनिबार, चैत १, २०८१
21:52 | ०३:३७

२५ देखि २५ सम्म

सुनिलबाबु खड्का मार्च १४, २०२५

दाई सुमन खड्कासँग सुनिल

आज मात्रै दाई सुमन खड्काले आफ्नै हातले बनाउनुभएको पहिलो कलम प्राप्त भयो । उहाँले हातले बनाउने कलम सिक्दै हुनुहुँदोरहेछ अनि आफूले बनाएको पहिलो कलम भाईलाई भनेर अष्ट्रेलियाबाट लण्डन पठाउनु भएको रहेछ । कलम खासै आकर्षक, मूल्यवान मणिजडित भने थिएन तर लगभग हातले लेख्न हराइसकेको मेरो बानीलाई महत्व त झन् कमै थियो ।

तर पनि यो कलम ‘थ्रि इडियट’ चलचित्रको भाइरसको अन्तरिक्षमा प्रयोग हुने कलमभन्दा कम भएको महशुस भएन । हाम्रो पारिवारीक संस्कार र मायाँ पृथ्वीको पूर्व र पश्चिमी गोलार्धमा बस्ने हामी ५०औँ वसन्त प्रवेश गर्ने संघारमा रहेपनि उस्तै रहेको आभाष भैरह्यो । यो कुरा मैले लण्डननिवासी मित्र सुरेन्द्रजीलाई सुनाएँ । उहाँले आफ्नै शैलीमा भन्नुभयो, “यस्तो विशेष कलमबाट केही न केही लेख्नुहोस्, जुन हामीले पढ्दा पनि आनन्द आओस् ।”

तर मैले सोचेँ- म न लेखक हुँ, न कुनै साहित्यकार नै, यदि मैले स्वघोषणा गरें भनेपनि लण्डनमा बस्ने सम्पूर्ण साहित्यकारहरुकै अपमान ठान्ने मलाई कलम चलाउने आँट नै आएन । तैपनि लगभग २५ वर्ष बेलायत बसाईमा कहिल्यै हातले लेख्ने अभ्यास नभएको म बबुरोलाई जे जस्तो भएपनि, जे जसो आउंछ त्यही लेख्छु, त्यो पनि यही विशेष कलमले मेरो २५ वर्षे बसाईका बारेमा लेख्छु भन्ने लाग्यो ।

बेलायतमा बसोबास गर्ने धेरै नेपालीमुलका साथीहरुले गज्जबका गौरव र संघर्षका कथाहरु लेख्नु भएको छ, मेरो लेखन उहाँहरुको तुलनामा निकै तूच्छ होला । यो कुनै इलन मस्कको स्पेसएक्स जस्तो बैजनी आश्चर्यले भरिएको कथा होइन, यो त सामान्य विदेशमा पसिना बहाइरहेको नेपाली नागरिकको घरदेशको सम्झना हो, परिवार पर रहंदाको पीडाको बिस्कुन हो, आफूसँग रहेको परिवार र भावी सन्तानको भविष्यको उज्वल कामनाको कथा हो ।


करिव २५ वर्ष पहिले एउटा २५ वर्षे नेपाली युवाको सपना के नै हुन्थ्यो होला ? परिवारको पालनपोषण, स्वास्थ्य शिक्षाको जोहो होस्, खेती किसानीमा आत्मनिर्भरता होस्, सानो नै भएपनि उद्यम समात्न सकियोस् …।

यस्तै यस्तै सपनाका थैली बोकेर, आर्थिक स्तरको समुन्नतिको सामल बोकेर बेलायत नगरीमा आइपुगियो । आम प्रवासीका पीडा, दैनिकी, व्यथा जे भनौ ति पनि मेरा साझा थिए । कामको कुनै चिनारी थिएन, मात्र कामको कुरा थियो, समयको पाउबन्दी थियो । बेलाबेलामा घरमा सन्चोबिसन्चो खबर पठाउन मात्र पाएको मनमा अत्यन्तै हर्षबिभोर हुने समय थियो त्यो । परिवारका अपेक्षा पनि पैसा भन्दा सन्तानको स्वास्थ्य र सुखको खवर सुन्न लालायित मेरो परिवार चितवनमा पर्खिरहेको थियो । बेलायतमा पाइला टेक्नुमा ममाथि इश्वरको कृपा ठान्छु म, मातापिताको आर्शिवाद मान्छु म र साथी भाई सबै शुभचिन्तकको भलो चिताइले मेरो सपना पुरा भएको थियो । मलाई मात्र सम्पतीको खोज र भोक कहिल्यै भएन । गरेको कामले दिने प्रतिफल नै मेरो श्रमको पुरस्कार भइदियो, इमानदारीता नै मेरो सधैंको एकल स्वभाव भइरह्यो ।

अहिले आएर हेर्दा त्यो बेला २५ वर्षको एकल सपनामा आउने आम सोचहरु पुरा भइसक्दा पनि मेरो लालसा सधैं एउटै कुरामा रोकिन्छ, त्यो हो संयुक्त परिवारको बसाई पुस्तौं पुस्तासम्म जाओस् । सबै उमेरका परिवारका सदस्यहरु भएको घर पो घर जस्तो लाग्छ मलाई । जहाँ हामी वयोवृद्ध हजुरबाले नाती पनातीको हात समाउंदै आँगनमा खेलिरहेको हेर्न सकुँ मेरो ध्येय त्यो छ । थाहा छैन आउने पुस्ताले मेरो सोचको पोषण गर्ला वा निमोठ्ला । तर वंशको अंश रहेका मेरा सन्तान र परिवारको जालोले डाडापाखा मात्र होइन विश्व नगरमा परि भ्रमण गरोस् तर संयुक्त परिवारको मुलमर्मलाई साथमा लगाइरहोस् जस्तो लाग्छ । यो मेरो नितान्त निजी सोच हो, मेरो प्रयास सन्तुलितरुपमा यसैलाई साकार बनाउन लागिरहेको छ । कुनै पनि व्यक्तिको अस्तित्वको त्यसको घरसँग जोडिन्छ, वंशसँग जोडिन्छ, घरघरबाट समाज बन्छ, समाज समाजबाट देश बन्छ । मेरो अनुभूति २५ देखि २५ सम्मको यही भन्छ ।

हामी स्वभावैले परिवार र साथीभाइसँगको परिवेशप्रेमी हुन्छौं । जहाँ आधारभूत आवश्यकता मात्र पुरा हुने हो भने, हामीसँग अरु कुनै मोह हुँदैन होला । परिवार साथमा भइदियो भने हजार पनि लाख हुन्छ, लाख पनि करोड हुन्छ, करोड पनि अर्ब हुन्छ । दुःखको पहाड पनि तराइ लाग्छ, कष्टका जंघार पनि तरेली लाग्छन् ।

लेखक सुनिलबाबु खड्का

स्कुले जीवनमा एउटा सोच थियो, बुवाआमाको बुढेसकालमा श्रवणकुमार जस्तै सेवा गर्ने र जन्मे हुर्केको समाजका लागि आदर्शपुरुष भगवान राम जस्तै सहयोगीको भूमिका खेल्नेछु भनेर वक्तित्वकला प्रतियोगितामा हात पारेको प्रमाणपत्रमा पुरानो फलामे बाकसमा धमिराले खाइसक्यो होला, आज आएर म त्यो प्रखर वक्तित्वकला पौरखीकर्ता हुँ भन्न पनि संकोच लाग्छ ।

तर त्यसबेला पढेको श्रवणकुमारको कथाले मेरो सोचलाई निकै गहिरोमा लगेको थियो । मातापिताको निम्ति एउटा छोरोको कर्तव्य कसरी काँधमा चढेर देशपरदेश यात्रा गर्छ, त्यो उपदेशात्मक कथाको सार मलाई अहिले पनि निकै घत लाग्छ । मान्छेको स्वभाव निर्माणमा बाल्यकालका कथाहरुले इटाको काम गर्दछन् । मेरो सोचको गर्भगृहमा मातापिताका लागि असिमित सम्मान छ, व्यवहारिक तहमा पुरा गर्न असमर्थ हुनु मेरो नियति हो ।

सोचाइ, मायामोह र व्यवहारिक वास्तविकताको उपभोक्ता भएर हस्तलिखित यी हरफहरु जोडिरहेको छु । मेरा छोराछोरीहरु आफ्ना हजुरबाआमाको आँखाबाट ओझेलमा रहनु मेरो कारण हो जस्तो लाग्छ, पारिवारिक प्रेमको वञ्चित गराउने तथ्यको अंशियार म पनि एक हुँ भन्नमा मलाई संकोच छैन । अहिले म परदेशमा छु त पहिलो कारण सन्तानको उचित शिक्षादिक्षा र विकास हो भने अर्कोतर्फ वृद्ध बुवाको सहारा बन्न म तागतिलो छोरा घरमा छैन, बिरामी आमाको सेवामा हाजिर हुन सकेको छैन । प्रविधिका माध्यमले शारीरिक दर्शन त गरायो तर भावनात्मक खाडलमा कहिल्यै पुर्न नसकिने अभाव र प्रताडना हरेक दिन, पलपल दिइरहेको अनुभव हुन्छ मलाई ।

२५ वर्ष पहिले देखेको सपनाको चरितार्थ भइसक्दा पनि जीवनको भोग र अतृप्ती अझै आलै बनि बसेको छ । यो खाटा मेरो पश्चाताप पनि हो कताकता, लघुताभाष पनि हो कताकता । दुई संसारको माझमा हल्लीरहेको भूमरीको पात जस्तो मेरो ५० वर्षगाँठको जीवन । मान्छेले भनेका सुखका सुस्केराहरु रोपेर पनि खुलेर हाँस्न सकेको छैन म । मेरो खोज सम्पति कहिल्यै थिएन तरपनि भावनाको मोहजालमा कसरी परिने रहेछ, आफै उदाहरण भएको छु । मैले त बोल्न खोजेँ, मेरा नबोल्ने साथीहरु कता होलान? मेरो आसमा अत्यास मानिरहको मेरो जन्मघर र परिवेशको जवाफ मैले कहिले दिन सकुला ?

मेरो ५० वर्षको डिलमा टलपलाइरहेका आँखालाई यही रोकेँ अहिलेलाई । बाँकी अनुभव आउने दिनहरुमा लेखुँला, कलमको मसी नसकिएसम्म, मेरो आँतमा आत्मीयता रहिरहेसम्म मेरो लेखनी निरन्तर हुनेछ । मेरो आफैंप्रतिको संवाद हो यो, मेरो अन्तरहृदयको आवाज हो । क्रमश:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू