बुधबार, फागुन २८, २०८१
14:16 | २०:०१

टिकट सकिएपछि सिड्नीमा नेपथ्यले थप्यो शो

नेपाली लिङ्क मार्च १२, २०२५


सिड्नी- कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।

अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्य आगामी चैत १६ (मार्च २९) मा सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा प्रस्तुत हुँदै थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि नेपथ्य त्यसै हलमा उपस्थित हुनेछ ।

राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरु गरेको नेपथ्यले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ । दुवै सहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो । सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।

नेपालयले यसलाई आफूहरूले नेपाली संगीत क्षेत्रकै निम्ति सुखद खबरका रूपमा लिएको जनाएको छ । कार्यक्रम आयोजनाको व्यवस्थापकीय चुनौती उल्लेख गर्दै नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कलाकारको लोकप्रियता र दर्शकको मागको समीकरण आकलन गर्दै कस्तो र कति क्षमताको स्थानमा कन्सर्ट गर्ने भन्ने चुनौती रहने गर्छ । त्यसै आधारमा आयोजनास्थलबारे व्यवस्थापकीय निर्णय लिनुपर्ने हुन्छ ।’

अस्ट्रेलियाको एकपछि अर्को सहरमा आयोजित नेपथ्यको कन्सर्टको चर्चाले दर्शकको चासो ह्वात्तै बढेको स्थानीय आयोजक टीआरएनका प्रदीप पाठक बताउँछन् । ‘यसै कारण भएभरका टिकट चाँडै बिक्री भए । अरू दर्शकको आकांक्षालाई सम्मान गर्दै थप शो घोषणा गर्ने जमर्को गरेका हौं,’ उनले भने ।

नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगिसकेको छ । यसपछि क्रमशः होबार्ट, एडिलेड र मेलबर्न सहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।

सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्यले त्यसपछि दुई हजार दर्शक क्षमताको ‘टाउनहल’ मा आफूलाई उभ्याएको थियो । टाउनहलमा क्षमताभन्दा धेरै दर्शक आएपछि केही बेरसम्मै सिड्नी सहरको मुटुमा रहेको त्यो भेग प्रहरीले नियन्त्रणमा लिनुपर्ने गरी अस्तव्यस्त बन्न पुगेको थियो । त्यसपछि केही समयसम्मै लगातार तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित ‘बिग टप’ हलमा नेपथ्यले प्रस्तुति दिएको थियो ।

नेपथ्य सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल ‘होर्डन पभिलियन’ मा प्रस्तुत भएको थियो । त्यति बेला आँटै गरेर ठूलो हल चयन गर्दा पनि भएभरका सबै टिकट बिक्री भएका थिए । त्यसै अनुभवका आधारमा यसपाला पनि उही हल छनोट गरिएको थियो । तर शो सुरु हुन निकै समय बाँकी छँदै भएभरका टिकट अनलाइनबाट बिक्री भएका छन् ।

पहिलोमा जस्तै सिड्नीको दोस्रो शोमा पनि घोषणालगत्तै टिकट काट्नेलाई ‘अर्ली बर्ड बुकिङ’ अन्तर्गत सहुलियत दर व्यवस्था गरिएको स्थानीय आयोजकले जनाएको छ । दोसो शोको टिकट मार्च १२ बुधबार सिड्नी समय अपराह्न ४ बजेदेखि खुला गरिएको छ ।

अस्ट्रेलियामा नेपथ्यको शृंखलाबद्ध यात्राको टिकट ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np बाट सोझै किन्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू