३ दशक अनुभवी सेफले खोले लन्डनको केन्द्रमा ‘टपरी’ (भिडियो)


लन्डन- नेपाली व्यवसायी फूलप्रसाद कंडेलले सेन्ट्रल लन्डनमा नेपाली तथा इण्डियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
सेन्ट्रल लन्डन जोन वानभित्र पर्ने फ्यारिङडन स्टेशन नजिक अवस्थित ‘टपरी रेष्टुरेन्ट‘ गत अगष्टदेखि सञ्चालनमा आएको हो ।
नर्थ इण्डियन र नेपाली कुइजिन खाना उपलब्ध गराउने टपरी रेष्टुरेन्टको नाम र ठाउं पनि विशेष महत्वको छ ।
टपरी आफैंमा मौलिक र आकर्षक नेपाली नाम छ भने रेष्टुरेन्टबाट ०.८ माइल दुरीमा ८ वटा ट्युव स्टेशन छन् । नजिकै डायमण्ड मार्केट भनेर चिनिने ह्याटन गार्डेन्स् पनि छ । ग्राहकका लागि यो रेष्टुरेन्ट निकै पायक पर्ने ठाउंमा छ ।
उक्त रेष्टुरेन्टमा नर्थ इण्डियन खाना प्राउन मोइली, सालमन मोइली, चिकन सागवाला, चिकन टिक्का मसला, बिरयानी जस्ता खाना र मःम, चाउमिन, भेल पुरी, चटपटे, भुटन, जिम्बु चिकन र लसुनी चिकन लगायत नेपाली खाना पाइन्छ ।
सेन्ट्रल लन्डनमा भएपनि खाना अफोर्डेबल (सस्तो) भएकाले रेष्टुरेन्टमा ग्राहक बढ्न थालेका छन् । कष्टमरको राम्रो गुगल रिभ्यू आइरहेको कंडेल बताउंछन् । कंडेल आफैं रेष्टुरेन्टको हेड सेफ हुन् । हस्पिटालिटी क्षेत्रमा झण्डै ३० वर्षको अनुभवका कारण पनि खाना निकै स्वादिष्ट बनाउंछन् कंडेल ।
झण्डै एक लाख ५० हजार पाउण्ड लगानीमा खुलेको उक्त रेष्टुरेन्ट सातै दिन बिहान ११.३० देखि राती १० बजेसम्म खुल्ने कंडेलले जनाए । करिब ४० सिट क्षमताको उक्त रेष्टुरेन्टमा खानासहित लस्सी, जुस, कोक फेण्टा र अल्कोहलिक पेय पदार्थ पनि सर्भ गरिने कंडेलले जनाए । यहां टेक वे व्यवस्था पनि छ ।
‘मैले सेन्ट्रल लन्डनमा त्यति नेपाली रेष्टुरेन्ट देखिन । मौलिक नेपाली खानाको स्वाद पस्किएर ग्राहकको आवश्यकता पूरा गर्न र नेपाली खानालाई विश्वस्तरमा चिनाउने पनि मेरो उद्देश्य हो’, कंडेलले भने । भविष्यमा टपरीका अरु ब्रान्च समेत खोल्ने योजना कंडेलको छ ।

‘टपरी’ रेष्टुरेटका सञ्चालक तथा हेड सेफ फूलप्रसाद कंडेल
सन् १९९४ तिर नयां दिल्लीबाट शुरु भएको हो उनको हस्पिटालिटी करिअर । सन् २००१ सम्म उनले दिल्लीमा रहंदा त्यहांको प्रतिष्ठित ताज होटल, गुलाडी लगायतमा सेफ भएर काम गरे । कामकै सिलसिलामा त्यतिखेर बेलायत, अष्ट्रेलिया, सर्बिया, जर्मनी, स्वीटजरल्याण्ड लगायत १७ देशसम्म पुगेको स्मरण गर्छन् उनी ।
बाग्लुङको अर्गल सिलेका स्थायी बासिन्दा उनी सन् २००१ मा वर्क परमिट लिएर जर्मनी आए । त्यसको तीन वर्षपछि सन् २००४ मा बेलायत आएका उनी त्यसयता हेड सेफ भएरै यहां काम गरे ।
बेलायतमा थाली थाली रेष्टुरेन्ट, मुगल, बम्बै बाइसाइकल, टेष्ट अफ राज, स्याफ्रोन, ढिसुम आदिमा काम गरेको अनुभव उनीसंग छ ।
सन् २०१० देखि उनले आफैंले पनि रेष्टुरेन्टमा लगानी गर्न थाले ।
एनआरएनए यूके आइसीसी सदस्य समेत रहेका कंडेल सामाजिक कार्यमा पनि सक्रिय छन् ।
हेरौं व्यवसायी कंडेलसंग नेपाली लिंकको खाना संवाद:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५