सोमबार, फागुन २६, २०८१
15:04 | २०:४९

काठमाडौँमा दुई महिनाका लागि निषेधाज्ञा

नेपाली लिङ्क मार्च १०, २०२५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका केही ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू