आइतबार, फागुन २५, २०८१
11:55 | १७:४०

बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

नेपाली लिङ्क मार्च ८, २०२५


लन्डन- फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले बेलायतको अल्डरसटमा सपिङ मलसहितको प्रपर्टी १० मिलियन पाउण्डमा खरिद गरेको समाचार निकै ‘भाइरल’ बन्यो ।

झण्डै एक अर्ब ७५ करोड रुपैयांमा वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी खरिद हुनु चानचुन विषय थिएन ।

पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले खरिद गरेको उक्त प्रपर्टी नै अहिलेसम्म बेलायतमा नेपालीको सबैभन्दा ठूलो ठानिएको छ ।

उक्त प्रपर्टी खरिदमा मोर्गेजसहित सबै फाइनान्सियल जिम्मेवारी किङ्सगेट फाइनान्सले सम्हालेको थियो, जसका प्रवन्ध निर्देशक हुन् प्रजेश श्रेष्ठ ।

केन्ट र अल्डरसटस्थित १२१ भिक्टोरिया रोडमा छ उनको अफिस । किङ्सगेटले मोर्गेजेज, कमर्सियल फाइनान्स, ब्रिजिङ लोन, इन्सुरेन्स (पर्सनल र बिजनेश), वील राइटिङ जस्ता सेवा प्रदान गरिरहेको छ ।

मेट लाइभ, ओपन वर्क, क्वील्टर जस्ता फाइनान्सियल सर्भिसेस् उद्योगमा काम गरेपछि प्रजेशले सन् २०१९ मा किङ्सगेट खोले । कम्पनीले रेडिङ, लन्डन, केन्ट, ह्याम्पसायर, स्वीन्डन, लेष्टर लगायत मुख्य शहरमा झण्डै १० जना कर्मचारी राखेर सेवा दिइरहेको प्रजेशले बताए ।

प्रजेश श्रेष्ठ, किङ्सगेट फाइनान्सका प्रवन्ध निर्देशक

प्रजेशको यस क्षेत्रमा १३ वर्ष लामो अनुभव छ । आफूले अहिलेसम्म इंग्ल्याण्ड र वेल्सका करिब ५ हजार ग्राहकलाई सेवा दिइसकेको उनले बताए । शुरुतिर ब्रिटिश बढी थिए, अहिले रेसिडेन्सियल र कमर्सियल बाइ टु लेट मोर्गेजका लागि नेपाली ग्राहक पनि बढेका छन् ।

‘बेलायतमा मोर्गेज सम्बन्धि काम गर्ने नेपाली कम्पनी बढिरहेपनि नेपाली जनसंख्या समेत बढेकाले त्यस्तो प्रतिष्पर्धा छैन्’, उनले भने, ‘मुख्य कुरा ग्राहकको सन्तुष्टि र विश्वास नै रहेछ । हामी त्यो कुरामा सचेत छौं ।’

अचेल २०-२२ वर्षदेखि नै नेपाली युवा घर किन्न थालेको उनको अनुभव छ । पहिला यस्तो थिएन । घर खरिद जीवनभरको एउटा उपलब्धि र प्रतिष्ठासंग पनि जोडिने उनको भनाइ छ ।

आफ्नो कम्पनी बेलायतको नियामक निकाय ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ बाट मान्यता प्राप्त भएकाले विश्वासिलो रहेको जनाउंदै उनले ग्राहकको आवश्यकता पूरा गराउन एउटा केस म्यानेजर नै दिने र उसले २४/७ सेवा दिने बताए । ‘म किङ्सगेटलाई भविष्यमा नेशनल ब्राण्ड नै बनाउन चाहन्छु र नाम पनि त्यही अनुसार राखिएको छ’-उनले सुनाए- ‘हाम्रोबाट नेपालीले मात्र होइन, बेलायती क्लाइन्टसले पनि सेवा लिओस् भन्ने टार्गेट छ ।’

पाटनका स्थायी बासिन्दा प्रजेशका बुबा केशव श्रेष्ठ र आमा बिना पनि सामाजिक कार्यमा छन्।

सन् २००० मा बुबा यूके आए, त्यसको दुई वर्षपछि मम्मी र भाइलाई यता ल्याए । सन् २००५ मा दिदी र प्रजेश आए । अहिले सपरिवार बसाइ बेजिङस्टकमा छ ।

फार्नबरो सिक्थ फर्म कलेजबाट ए लेभल गरेका उनले ब्रुनेल युनिभर्सिटीबाट फाइनान्सियल म्याथम्याटिक्समा ब्याचलर्स गरेका छन् । बेलायतको नेपाली डायष्पोरामा दोश्रो पुस्ताले शैक्षिक र व्यवसायिक फड्को मारिरहेको उनको बुझाइ छ ।

पासा पुच गुथि अल्डरसटका महासचिव र पासा पुच गुथि बोर्ड अफ ट्रष्टीका सचिव प्रजेश सानैमा बेलायत आएपनि नेवारी भाषा राम्रो बोल्छन् । अचेल सामाजिक गतिविधिमा पनि उनको सक्रियता बढेको छ ।

हेरौं नेपालीलिंकसंग प्रजेशको फाइनान्स संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू