आइतबार, फागुन २५, २०८१
11:59 | १७:४४

गौतमबुद्ध विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान

रासस मार्च ८, २०२५

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन्। यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन।

अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरिरहेका हुन्।

भैरहवामा चार अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गरे।

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौं भएर उडान गर्दै आएको छ। जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ। फ्लाई दुबईले एक महिना अघिदेखि पुनः उडान सुरु गरेको थियो। जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन्।

गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कुल ११५ उडानमार्फत ६ हजार ८७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू