शुक्रबार, फागुन २३, २०८१
20:27 | ०२:१२

एनआरएनए उच्चस्तरीय समितिले गठन गर्‍यो निर्वाचन समिति

उच्चस्तरीय समितिसँग छलफल गर्न परराष्ट्रमा बैठक

नेपाली लिङ्क मार्च ६, २०२५


लन्डन । डा. शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति बनाइएको हो ।

समितिको सदस्यमा आशिष उप्रेती, डमर घले तथा कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने सदस्य विनोद कुँवरले बताए । 

एनआरएनए एकता महाधिवेशन आउंदो ३ देखि ५ मे, २०२५ मा काठमाडौँमा हुँदैछ । 

सर्वोच्च अदालतको २०८० चैत २१ गतेको आदेश पालना गर्दै उच्चस्तरीय समितिले एकता महाधिवेशन सफल बनाउन तयारी शुरु गरिसकेको छ । 

उच्चस्तरीय समितिले ३१ मार्च २०२५ भित्र संघको सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई सदस्यताका लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेको छ।

नेपाल सरकारको सहयोगमा अदालतको आदेश कार्यान्वयन प्रक्रियामा रहेको र यससँग बाझिने अरु कुनै आदेश वा फैसला नभएकाले महाधिवेशनमा सहभागिता जनाउन कोही कसैले वैधानिक अप्ठ्यारो महशुस गर्नु नपर्ने उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले बताए । 

उच्चस्तरीय समितिको पदावधि १८ मे २०२५ मा सकिने भएकाले त्यस अगावै एकता महाधिवेशन गर्नु पर्ने वाध्यता छ।

परराष्ट्रले उच्चस्तरीय समितिलाई छलफलमा बोलायो

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । 

मन्त्रालयले शुक्रबारका लागि छलफलमा बोलाएको समितिका संयोजक घलेले जानकारी दिए । 

अदालतको फैसला बमोजिम समन्वय र सहजीकरण प्रयोजनार्थ परराष्ट्रमन्त्री आरजु राणाले बैठक बोलाएकी हुन् ।

दिउसो १ बजे मन्त्रीको सचिवालय कक्षमा हुने बैठकमा समितिका संयोजक घलेसहित सदस्यहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, विनोद कुंवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ, कुल आचार्य, डा. बद्री केसी र रविना थापालाई बोलाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू