उद्यमी कंडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचबाट प्रतिष्ठित सम्मान


लन्डन । द कँडेल ग्रुपका ग्रुप सिइओ राजन कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक प्रतिष्ठित समारोहबीच शिक्षामा उनको असाधारण योगदानका लागि सम्मान गरिएको छ ।
प्रतिष्ठित पूर्व छात्रहरुको सम्मानमा आयोजित उक्त समारोहले बेलायत, नेपाल, युएई र क्यानडाका विभिन्न समुदायमा शिक्षालाई पहुँचयोग्य बनाउन कँडेलले गरेको प्रयासलाई प्रकाश पारेको थियो ।
ग्रीनवीच विश्वविद्यालयको ऐतिहासिक क्याम्पसमा भएको कार्यक्रममा उपकुलपति प्रोफेसर जेन ह्यारिङ्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरिन् । उनले भनिन्, ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञतामार्फत समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’
सम्मान ग्रहण गर्दै कँडेलले आफ्नो शैक्षिक जग बसाल्न र शिक्षा क्षेत्रमा आफ्नो यात्रालाई प्रेरणा दिएकोमा ग्रीनवीच विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गरे ।
‘शिक्षामा जीवन परिवर्तन गर्ने शक्ति छ, विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच सुनिश्चित गर्ने मेरो प्रतिवद्धमा यो सम्मानले थप उर्जा मिलेको छ’, उनले भने ।
सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिङमा बीएससी (अनर्स) हासिल गरेका कँडेलले शिक्षामा उल्लेखनीय करियर निर्माण गरेका छन्। सन् २०११ मा उनले ब्रिटिश कलेज काठमाण्डौं स्थापना गरे जुन नेपालको उच्चशिक्षा प्रदान गर्ने प्रमुख शैक्षिक संस्थानमध्ये एक मानिन्छ र यो अहिले अन्तर्राष्ट्रिय रूपमा विस्तार भएको छ।
उनको नेतृत्वमा कँडेल समूहले विश्वव्यापी शिक्षा र स्थानीय समुदायहरूबीच खाडल कम गर्न ध्यान केन्द्रित गर्दै धेरै देशमा स्कुल र कलेजहरू स्थापना गरेको छ।
अढाइ दशक अघि नेपालबाट ऋण लिएर लन्डन टेकेका कंडेलको अहिले ५ वटा देशमा व्यवसाय छन् । उनी अमेरिकासहित अन्य देशमा समेत आफ्नो व्यवसाय विस्तार गर्ने तयारीमा जुटिरहेका छन् ।
कंडेल नेपालीहरुमा समेत व्यवसायिक दक्षता भएकाले विश्व बजारमा दरिलो उपस्थिति हुनुपर्ने बताउंछन् । कँडेलले बढ्दो विश्वव्यापी संसारमा विद्यार्थीलाई सफलता हासिल गर्न मार्ग सिर्जना गर्ने अभियानमा जुटेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५