शनिबार, फागुन १७, २०८१
22:54 | ०४:३९

बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि

रासस/सिन्ह्वा फ्रेब्रवरी २८, २०२५

लन्डन, फागुन १६ — बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरबारेमा चिन्ता व्यक्त गरेका छन् ।

यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) को पछिल्लो तथ्यांकले देशभरि नोरोभाइरसका केसहरू बढ्दै गएको देखाएको छ ।

यूकेएचएसएले अघिल्लो १५ दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केसहरू झन्डै ३० प्रतिशतले बढेको र पाँच–सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ ।

स्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केस फेला परेका छन् ।

मौसम न्यानो हुने बित्तिकै उक्त केसहरू सामान्यतया घट्न थाल्ने विज्ञहरुको भनाइ छ ।

भर्खरको तथ्याङ्कले यो सिजनमा नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।

नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने हुन्छ । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू