बिहीबार, फागुन १५, २०८१
20:56 | ०२:४१

बेलायतको सिजनल वर्कर भिजाका नाममा बढ्यो ठगी

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२५

यूकेले कृषि फार्ममा काम गर्ने जनशक्ति अभाव पूरा गर्न सन् २०१९ मा सिजनल वर्कर भिजा स्किम ल्याएको हो

लन्डन । अचेल विदेश पठाइदिने नाममा निकै ठगी बढेको छ ।  वैदेशिक गन्तब्यको प्रमुख आकर्षण बेलायत पनि यो बाट अछुत रहने कुरै भएन । बेलायतको विधार्थी भिजामा केही कन्सल्टेन्सीले बदमासी गरेपनि बढी ठगी चाहिं वर्क परमिट र सिजनल वर्कर भिजा (मौसमी कामदार) मा पठाइदिने भन्दै बढेको छ ।

गिरोहले सामाजिक सञ्जाल तथा फोन कलमार्फत सोझा नेपालीलाई बेलायतमा मौसमी कामदारका लागि पठाइदिने भन्दै पैसा असुल्न सक्रिय भएपछि वैदेशिक रोजगार विभागले विज्ञप्ति नै निकालेर सचेत गराएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत निकायमा गुनासो आएसँगै विभागले सचेत गराएको हो ।

विभागले बेलायतमा मौसमी कामदार पठाउने गरी कुनै नीतिगत निर्णय नभएकाले प्रलोभनमा नपर्न सबैमा अनुरोध गरेको छ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मन्त्रालयको तर्फबाट कुनै पनि नीतिगत निर्णय नभएको र स्वीकृति दिई पठाउने व्यवस्था समेत नभएको बताएका छन्। 

उक्त कार्य कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न सुवेदीको अनुरोध छ । अवैधानिक प्रक्रियाबाट जाने सोच तथा योजना नबनाउन समेत उनले अनुरोध गरे । 

युरोपेली संघबाट बाहिरिएपछि बेलायतले यहाँ कृषि फार्ममा खेती गर्ने जनशक्ति अभावलाई मध्यनजर गर्दै ६ महिना अस्थायी जागिर दिने परियोजना सन् २०१९ मा सुरु गरेको थियो । 

तर, यस रुटको व्यापक दुरुपयोग भयो । कामदार आपूर्ति गर्ने संस्थाले नेपालीबाट अवैध शुल्क लिन थाले भने अधिकांश नेपाली पनि यतै लुकेर शररार्थी आवेदन दिने क्रम बढेपछि सरकारले नेपालबाट आउन रोकिदियो ।

लन्डनस्थित एक जना नेपाली सोलिसिटर दीपक भट्टराईले सिजनल भिजामा आएका धेरै नेपाली कामदारले ‘असाइलम क्लेम’ गरेका कारण र एजेन्टबाट आर्थिक शोषणको खबर पछि बेलायतले अहिले नेपालबाट कामदार ल्याउन बन्द गरेको बताए ।

‘१९५१ यूएन रेफ्यूजी कन्भेन्सन’ मा कस्तो ग्राउन्डसमा शरणार्थी आवेदन दिन मान्य छ स्पष्ट उल्लेख भएको जनाउंदै सोलिसिटर भट्टराईले ‘इकोनोमिक माइग्रेण्ट’ शरणार्थी दावी गर्न उपयुक्त कारण नहुने पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू