बुधबार, फागुन १४, २०८१
13:02 | १८:४७

महाशिवरात्री मनाइंदै, पशुपतिनाथमा भक्तजनको घुइंचो

रासस फ्रेब्रवरी २६, २०२५

काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।

महाशिवरात्रिका अवसरमा  पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।

हंसमण्डपमा विभिन्न सङ्घसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन्।

महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा ‘एयरपोर्ट’–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू