मंगलबार, फागुन १३, २०८१
00:13 | ०५:५८

एनआरएनए यूकेको नयाँ सदस्यताका लागि २३ मार्चसम्म समयसीमा

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२५

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले एकता महाधिवेशन नजिकिएसंगै सदस्यतामा जोड दिएको छ । संघले नयाँ सदस्यताका लागि २३ मार्च २०२५ सम्म समयसीमा तोकेर यसलाई प्राथमिकता दिएको हो । एकता महाधिवेशनमा सहभागी हुन सदस्यता अनिवार्य छ । यस लिंकमा गएर सदस्यता लिन सकिने एनआरएनए यूकेले जनाएको छ ।

यसैबीच, एनआरएनए यूकेले आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनबारे जानकारी दिन एक पत्रकार सम्मेलन पनि गर्ने भएको छ ।

संघको निर्वाचन समिति, महाधिवेशन आयोजक समिति र विधान संशोधन समितिले आउंदो २ मार्च मध्यान्ह १२.३० मा ठमेल रेष्टुरेन्ट अल्डरसटमा पत्रकार सम्मेलन राखेको हो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एकता महाधिवेशनबारे महत्वपूर्ण जानकारी दिइने जनाउंदै बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुलाई प्रेस मिटमा उपस्थित हुन अनुरोध गरेका छन् ।

एनआरएनए यूकेले डा. भीम पुनको संयोजकत्वमा एक निर्वाचन समिति बनाइसकेको छ । समितिको सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यहरुमा राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा छन् ।

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम एनआरएनए यूकेले अल्डरसटमा महाधिवेशन गर्न लागेको हो ।

उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने विशेष अतिथीका रुपमा आउने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू