सोमबार, फागुन १२, २०८१
20:54 | ०२:३९

बेलायतमा तेश्रो अन्तरराष्ट्रिय नेपाली फिल्म महोत्सव घोषणा

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२५

लन्डन- बेलायतमा नेपाली कला र फिल्म प्रवर्धन गरिरहेको लन्डनस्थित थर्ड आईले तेश्रो नेपाली फिल्म महोत्सव गर्ने भएको छ ।

लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले मे अन्तिम साता इंग्ल्यान्डमा महोत्सव गर्न लागिएको घोषणा गरेका हुन् ।

महोत्सवमा सन् २०२४ जनवरीदेखि ०२४ डिसेम्बरसम्म बनेका मध्येबाट छानेर ५ वटा उत्कृष्ट फिल्म देखाइनेछ।

संसारभरबाट आवेदन गरिएका नेपाली भाषा वा नेपाली सबटाइटलका फिल्ममध्येबाट जुरीले छनोट गर्ने ५ वटा फिल्म देखाइने र समापनमा कलाकारहरुलाई विशेष सम्मान र विभिन्न परफर्मेन्स हुने थर्ड आईले जनाएको छ ।

गत वर्ष फेस्टिभलमा सहभागी हुन ८ सय ४० वटा फिल्मले आवेदन दिएका थिए ।

समापन ३१ मेमा लन्डन ग्रीनफोर्ड टाउन हलमा गरिने तय भएपनि अन्य मिति र स्थान छिट्टै तय गरिने जनाइएको छ ।

महोत्सवका लागि झण्डै १५ जना नयां पुराना कलाकारहरु नेपालबाट आउनेछन् । बेलायत आउने कलाकारहरु फिल्म प्रदर्शनका लागि छानिएका मध्येबाट समेत हुने आयोजकको भनाइ छ ।

बेलायतमै रहेका कलाकार, श्रष्टा, फिल्म निर्मातालाई पनि महोत्सवमा सहभागी गराइने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा थर्ड आईका संस्थापक-निर्देशक विकास देवकोटाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्धन, नेपाल र बेलायतका कलाकारबीच सम्बन्ध अभिवृद्धि र बेलायतमा रहेका नेपाली प्रतिभाहरुका लागि ‘प्लेटफर्म’ प्रदान गर्न ब्रीजको रुपमा काम गर्ने उद्देश्य महोत्सवको रहेको जनाए ।

देवकोटाले संसारभरबाट नेपाली भाषा वा सवटाइटलका फिल्मले आवेदन दिन सक्ने बताए ।

थर्ड आईले विगतदेखि नै नेपाली फिल्म र आर्ट प्रमोट गर्दै आएको जनाउंदै देवकोटाले यसपटक महोत्सवमा विदेशीलाई समेत बोलाउने र कमर्सियल, नन-कमर्सियल फिल्म प्रदर्शन हुने जनाए ।

महोत्सव खर्चिलो हुने भएकाले नेपाल र बेलायतबाट प्रायोजकहरु जुटाउने आयोजकको भनाइ छ । फिल्म हेर्न, उद्घाटन र समापन समारोह सशुल्क हुने भएपनि टिकट मूल्य अझै टुंगो लागि नसकेको आयोजकले बताएका छन् ।

महोत्सव विवादरहित बनाउन फिल्म छनोट नेपालमा गठित जुरीले नै गर्ने देवकोटाले जनाए । महोत्सवका नाममा मानव तस्करी वा अन्य विकृति भइरहेको प्रति आफूहरु सजग रहेको र यो महोत्सवमा त्यस्ता गतिविधि निरुत्साहित गरिने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा प्रोजेक्ट लिडर ओजेश सिंहले स्वागत गर्दै अरु देशका कलाकारलाई पनि महोत्सवमा निमन्त्रणा गरिने जनाए । ‘नेपाली चलचित्र उद्योग अहिले पनि चुनौतिपूर्ण अवस्थामा छ । नेपालबाहिर बस्ने नेपालीले पनि सहयोग गर्दा फिल्म उद्योगलाई टेवा पुग्नेछ’, सिंहले भने । सिंहले नेपाली फिल्म महोत्सवलाई सपोर्ट गर्न बेलायतवासी नेपालीलाई कार्यक्रममा आइदिन अपिल गरे ।

आयोजक टिमका तर्फबाट पार्टनरसीप कोअर्डिनेटर एवम् एनआरएनए यूके पूर्व अध्यक्ष सुनिल खड्काले विदेश बस्ने नेपालीमा आफ्नो कला, संस्कृति, साहित्य, भाषा जोगाउने जिम्मेवारी भएकाले महोत्सव सफल बनाइदिन सबैमा अपिल गरे ।

‘फिल्म प्रवर्धन विदेश बस्ने हामी सबैको जिम्मेवारी पनि हो, टिकट खरिद वा प्रायोजन गरेर आफ्नो ठाउंबाट सहयोग गरिदिनु होला’, खड्काले भने, ‘नेपाली कलाकार र फिल्मलाई प्रवर्धन गर्न पनि हामीले महोत्सव गर्न लागेका हौं ।’

मिडिया कोअर्डिनेटर प्रजेश श्रेष्ठले फिल्म आवेदन प्रक्रियाबारे अवगत गराउंदै आउंदो २५ मार्चसम्म फिल्म आवेदनको समयसीमा भएको बताए ।

श्रेष्ठले आवेदन खुलिसकेको र इच्छुकले फिल्म फ्रि वे डटकम र फिल्म फेस्टिबल लन्डन डट को डट यूकेमार्फत आवेदन गर्न सक्ने जनाए । उनका भनाइमा महोत्सवका दर्शक सबै उमेर समूहका हुनेछन् ।

फिल्म महोत्सव आयोजक कमिटीमा अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारतीलगायत पनि छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू