भूतपूर्व गोर्खा सन्तान ६९ वर्षीय हैकम राईले बेलायत आउन जिते मुद्दा


लन्डन । संखुवासभा स्थायी घर भएका ६९ वर्षीय हैकम राईले बेलायत आउन मुद्दा जितेका छन् । अदालतबाट मुद्दा जित्ने उनी सबैभन्दा बढी उमेरका र यो ऐतिहासिक सफलता भएको एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले जनाए ।
राईलाई उमेरमा आफूभन्दा कान्छी सौतेनी आमाले स्पोन्सर गरेकी थिइन् । उनका बाबु भूपू गोर्खा सैनिकको मृत्यु हैकम जवान छंदा नै भएको परिवारले बताएको छ ।
लन्डनस्थित एभरेष्ट ल फर्मले राईको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । शुरुमा होम अफिसले राईको आवेदन ‘रिफ्युज’ गरेको थियो । अपिलपछि फष्ट टियर ट्राइबुनल (तल्लो अदालत) मा केस पुग्यो । त्यहां पनि न्यायाधिशले राईको पारिवारिक जीवन बन्दैन भनेर अपिल हराइदिए । मुद्दा हार्नुको मुख्य कारण राईको उमेर थियो ।
तर उच्च अदालत (अपर ट्राइबुनल) ले अनुमति दिएपछि पारिवारिक जीवन छ छैन् भन्ने सम्बन्धमा वहस भयो । उक्त वहस ब्यारिष्टर किलिन म्याकार्थीले गरेकी थिइन् ।
उक्त वहसपछि उच्च अदालतले उमेरको आधारमा मात्र पारिवारिक जीवन छैन् भन्न मिल्दैन भनि तल्लो अदालतको निर्णय खारेज गरिदिएर पुनः निर्णयका लागि तल्लो अदालत नै पठाइदियो ।
त्यहां ब्यारिष्टर म्याथ्यू मोरियार्टीले गरेको वहसपछि अर्का न्यायाधिशले निज राईको पक्षमा पारिवारिक जीवन छ भनेर मानवअधिकारको ग्राउण्ड्समा केस जिताएको सोलिसिटर थापाले जनाए ।

६९ वर्षीय हैकम राई
बेलायत नेपाल जीटुजी गोर्खा वार्ताका मध्यस्तकर्ता मेजर रि. जुदबहादुर गुरुङले वार्ताको उपलब्धिकै कारण ६९ वर्षको उमेरमा पनि गोर्खा सन्तानका लागि डिपेन्डेन्ट भिजा आवेदन सफल भएको बताए । ‘गोर्खा सन्तानका सबै डिपेन्डेन्टलाई निशर्त भिजा हुनु पर्छ भन्ने हाम्रो माग हो । यसमा अहिले क्रमशः सफलता मिल्दै गएको छ’-उनले भने ।
उता, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले यो समस्त गोर्खालीको जित भएको बताए । ‘बेलायत सरकारले गोर्खा सन्तानलाई बेला बेला दुःख दिएपनि अदालतले हामीलाई न्याय दिंदै आएको छ । हामी समान पेन्सन र अन्य अधिकार नपाएसम्म लडिरहनेछौं’, राईले भने ।
थापाले गत वर्ष तनहुँ निवासी ६५ वर्षीय हुम बहादुर आलेले पनि केस जितेर बेलायत आइसकेको बताए । एभरेष्ट ल फर्मले उनको एक पटकमै केस जिताएको थियो । एभरेष्ट ल सोलिसिटर्सले भूतपूर्व गोखाका छोराछोरी र नाति नातिनीको मुद्दामा पनि सफलता पाएको थापाले जनाए ।
एकजना विधवा आमा राईले आफ्ना १० छोराछोरीको मुद्दा जितेकी थिइन् तर गत वर्ष उनी दिवंगत भइन् । त्यस्तै एकजना भूतपूर्व गोर्खा तामाङले एभरेष्ट ल सोलिसिटर्सबाट ११ जना वयष्क सन्तानहरुको आवासीय अधिकार दिलाउन सफल भएका थिए ।
सोलिसिटर राजु थापाले बेलायतले पुनः अपिल राइट दिएपछि भूतपूर्व गोर्खा सन्तानहरुको मुद्दाको चाप बढेको बताए ।
एभरेष्टले पारिवारिक जीवन र मानवअधिकार उल्लंघन भएको आधारमा भूतपूर्व गोर्खाका वयस्क सन्तानहरुका करिब ९० प्रतिशत केस जितिसकेको थापाको भनाइ छ । मुख्यतया पारिवारिक जीवन सफल हुन आर्थिक र भावनात्मक सम्बन्ध भएको प्रमाण जुटाउनु पर्ने हुन्छ ।
पहिला होम अफिसले भूतपूर्व गोर्खाका वयस्क सन्तानहरुका हकमा ३० वर्षसम्मको उमेर हदबन्दी तोकेको थियो तर अहिले यो हदबन्दी कायम छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५