शुक्रबार, फागुन ९, २०८१
18:18 | ००:०३

भारतमा नेपाली विद्यार्थीको मृत्युले आक्रोश, नेपालबाट निरन्तर ‘फलो अप’

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२५

काठमाडौं- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई नेपाल सरकारले निरन्तर ‘फलो अप’ गरिरहेको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जनाएकी छन् ।

नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको पनि उनले जनाएकी छन् । 

‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु’-उनले सामाजिक सन्जालमार्फत जनाएकी छन् – ‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको छ ।’

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका पनि उनको भनाइ छ ।

प्रकृतिको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेपछि सर्वत्र आक्रोश व्यक्त भएको छ । विद्यार्थीले नेपाल र भारतमा समेत प्रदर्शन चर्काएका छन् ।

बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको थियो ।

मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ । 

त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू