नेपालको शरणार्थी शिविरदेखि अमेरिकामा व्यापारिक साम्राज्यसम्म (भिडियो)


लन्डन । अमेरिकाका सफल व्यवसायी तथा समाजसेवी डिल्ली अधिकारी यतिखेर ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ २ अडिसनको सिलसिलामा विदेश भ्रमणमा छन् ।
अन्तर्राष्ट्रियस्तरका ति दुई रियालिटी शोको आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ का अध्यक्ष हुन् उनी ।
उक्त शोको स्थलगत अडिसनका लागि अधिकारी अहिले बेलायतमा छन् । गैर नाफामूलक ति रियालिटी शो खासमा गीतसंगीतको माध्यमबाट संसारभर छरिएका नेपालीमूलका नागरिकलाई नेपालसंग जोड्न परिकल्पना गरिएको उनी बताउंछन् ।
दर्जन बढी मुलुक क्यानाडा, अमेरिका, यूके, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया, भारतको सिलिगुरी र मुम्बइ एवं नेपाल बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा गरिने अडिसनबाट छानिएका प्रतिभाहरु सबैलाई काठमाडौंमा लगेर अन्तिम विजेता घोषणा गरिने यो प्रोजेक्ट अत्यन्त खर्चिलो छ ।
‘भ्वाइस्’ र ‘डान्स’ दुवै विद्यामा विजेतालाई १-१ करोड रुपैयां पुरस्कार छ भने फष्ट रनर अपलाई २५ लाख, सेकेण्ड रनरअपलाई १० लाख र टप टेनमा पर्ने सबैलाई एक–एक लाख रुपैंया नगदसहित पुरस्कार दिइनेछ ।
‘यो व्यवसायिक हिसाबले चलेको प्रोजेक्ट होइन, नाफा कमाउने वा निजी स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले गरिएको होइन्’, उनले प्रष्ट्याए, ‘यो जातीय एकताका लागि हो, गीत संगीतको माध्यमबाट हामी संसारभरका नेपालीलाई नेपालसंग जोड्ने उद्देश्यले गरिएको हो । गीतसंगीतको माध्यमबाट हाम्रो मौलिकतालाई जगेर्ना गरौं, आफ्नो पनलाई जोगाएर राखौं भन्ने ध्येय छ ।’
नेपालीपन बचाउन र हामी नेपाली वाध्यतावश विश्वका जुन देश पुगेपनि पुरख्यौली नासो भुल्नु हुन्न भन्ने सन्देश दिन र नेपाली कला संस्कृति एवं भाषा भावी पिंढीलाई पुस्तान्तरण गर्ने उद्देश्य राखेर शो गरिएको उनले बताए ।
उनी थप प्रष्ट्याउंछन्, ‘हामी को हौं ? हाम्रो परिचय के हो ? संस्कार संस्कृति के हो ? हाम्रा पुर्खाले बनाइदिएको संस्कार संस्कृति के रहेछ ? हाम्रो वास्तविक जातीय परिचय के रहेछ भनेर हाम्रा भावी पिंढीहरुलाई बताउन जरुरी छ र संसारभर छरिएका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ ? नेपाल देश के हो र कसका लागि बनेको हो ? हामी पछाडिको पुस्तालाई के पुस्तान्तरण गर्ने त ? कमसेकम हाम्रो पन, भाषा, संस्कार, संस्कृति, रितिथिती, मौलिकता भावी पुस्तालाई दिन सकौं भनेर हामी लागिरहेका छौं ।’
अधिकारी नेतृत्वको फाउन्डेसनले अमेरिकाका सात शहरमा ७ वटा विद्यालय सञ्चालन गर्दै आएको छ जुन विद्यालयले शास्त्रीय संगीत तथा नृत्य प्रशिक्षण दिने गरेको छ ।

‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ का संस्थापक अध्यक्ष डिल्ली अधिकारी
नेपालमा बीसौं वर्ष शरणार्थी जीवन बिताएर सन् २०१० अन्तिमतिर अमेरिका पुगेका उनले जिरो इन्भेष्टमेन्टमा घरबाटै होम केयर व्यवसाय शुरु गरेका थिए । अधिकारीले अहिले अमेरिकाका कयौं राज्यमा होम केयर, होम हेल्थ, स्किल सर्भिसेस्, फार्मेसी, रियल स्टेट (लेन्डिङ कम्पनी) आदिमा व्यापारिक साम्राज्य खडा गरेका छन् ।
भुटानी समाज व्यवसायको मेरुदण्डका रुपमा खडा भएको जनाउंदै उनले झण्डै ९९ प्रतिशत मानिसको सहयोग सद्भावबाट नै आफू सफल बनेको बताए । आफ्नो व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्ष करिब १२ हजार कामदारले रोजगारी पाएको अधिकारी बताउंछन् ।
उनी मानिस जतिसुकै सफल भएपनि जीवनको एउटा बिन्दुमा पुगेपछि उसले खोज्ने भनेको शान्ति, सन्तुष्टि र आनन्द नै रहेको बताउंछन् । ‘भौतिक सुख सुविधाको त एउटा सीमा हुन्छ । वास्तवमा मानिसले निजी स्वार्थ भन्दा सिंगो समाज र सिंगो जातीको हित र कल्याणबारे सोच्नुपर्छ’, उनी भन्छन् ।
हेरौं अभियन्ता एवं व्यवसायी अधिकारीसंग नेपालीलिंकको भिडियो संवादः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५