शुक्रबार, फागुन ९, २०८१
20:53 | ०२:३८

नयाँ राजदूत घिमिरेलाई स्वागत गर्दै ओएनएफ यूकेले दियो सुझाव

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२५

लन्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई यहाँस्थित नेकपा एमालेनिकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) ले स्वागत गरेको छ।

मञ्चका अध्यक्ष तुंगभद्र भुषालको नेतृत्वमा सोमबार दिउँसो लन्डन दूतावास पुगेको ओएनएफ यूके प्रतिनिधिमन्डलले राजदूतलाई स्वागतसहित प्रभावकारी कार्यसम्पादनका लागि केही सुझावहरु समेत दिएको छ।

अध्यक्ष भुषालले खादा र पुष्पगुच्छासहित मञ्चका तर्फबाट राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

उनले बेलायतस्थित नेपाली समुदायका चासो र सरोकारका विविध विषयमा राजदूतलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगका लागि आग्रह गरे । अध्यक्ष भुषालले एनआरएनए नागरिकता, पूर्व गोर्खाका समस्यादेखि बेलायतबाट नेपालले लाभ लिन सक्ने सम्भावित क्षेत्रलगायतका विषयमा संगठनका तर्फबाट सुझाव दिएका थिए ।

मञ्चका पूर्व अध्यक्ष भक्त गुरुङले बेलायतमा रहेका भूपू गोर्खा परिवारका वृद्धवृद्धाले भोग्दै आएका समस्याबारे राजदूतलाई जानकारी गराउँदै उनीहरुको सहयोगका लागि आवश्यक सहजिकरण गरिदिन आग्रह गरे ।

मञ्च पूर्व अध्यक्ष एवम् एनआरएनए केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले एनआरएनएभित्रका विवाद र समस्याबारे अपडेट गराउँदै एनआरएनए नागरिकता कार्यान्वयनमा देखिएका समस्याको शीघ्र समाधानका लागि राजदूतका तर्फबाट पनि भूमिका अपेक्षा गरिएको बताए ।

मञ्चका संघसंस्था विभाग प्रमुख पशुपति पोखरेलले मिडल्यान्डमा दूतावासको घुम्ती सेवा सञ्चालन गरिदिन आग्रह गरेका थिए।

मञ्चका पूर्व अध्यक्ष दिनेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने पूर्व अध्यक्ष राजेन्द्र पुडासैनी, मञ्चकी ग्लोबल कमिटी सदस्य सरस्वती केसी, एनआरएनए इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्याललगायतले राजदूतलाई बेलायतमा स्वागत गर्दै कार्य सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा राजदूत घिमिरेले ओएनएफ यूकेले दिएको स्वागत र सुझावहरुका लागि धन्यवाद दिए । उनले बेलायतको नेपाली समुदायका चासो, सरोकार रहेका सबै विषयमा आफूले प्रभावकारी ढंगले काम गर्न प्रयास गरिरहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू