‘फोर नेसन्स कप’ मा नेपालको विजयी सुरुआत्


काठमाडौँ। नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत् गरेको छ ।
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो ।
नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बनिन् । खेलको सुरुवातदेखि आक्रामक प्रदर्शन गरेपनि नेपालको फिनिसिङ पक्ष कमजोर बन्यो ।
नेपालले १०औँ मिनेटमा विमलाको गोलमा अग्रता लिएको थियो । विमलाले सविता रानामगरको लामो पासमा गरेको हेडगोल नेपालको जितमा पर्याप्त बन्यो ।
नेपालले खेलको अन्तिमसम्म लगातार अवसर बनाएपनि थप गोल गर्न भने सकेन । यस्तै नेपालको तुलनामा केही कमजोर देखिएको कीर्गिस्तानले पनि गोलको अवसर गुमाएको थियो ।
कीर्गिस्तानले इन्जुरी समयमा डिबक्स छेउमा पाएको फ्रि किक प्रहार पोस्ट्माथि हुईकिएको थियो । यस खेलमा दोस्रो रोजाईमा रहेकी नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ दोस्रो हाफमा विमला विकको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
पहिलो जितसँगै नेपालले तीन अंक बनाएको छ । कीर्गिस्तानले हारबाट प्रतियोगिता सुरुवात गरेको छ । चार टिम सम्मिलित प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता छ ।
यसअघि सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हराएको थियो। म्यानमारको जितमा विन थेन्गीथुनले ५६औँ, स्वेय यी टुनले ७२औँ र म्याट नोय खिनाले ७५औँ मिनेटमा गोल गरे ।
लेबनानकी लैजा स्कन्डरले ६०औँ मिनेटमा सान्त्वना गोल गरेकी थिइन्। पहिलो जितसँगै म्यानमारले पनि तीन अंक बनाएको छ । नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ ।
लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ र फिफा महिला विश्वकप–२०२७ को छनोट तयारीको रूपमा लिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५