नर्सिङ एसोसिएसनको मासिक वेबीनार अब नियमित, मार्चमा सम्मेलन


लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले सांगठनिक सक्रियता बढाएको छ ।
करिब सात महिनापछि एसोसिएसनले आफ्नो मासिक वेबीनारलाई अब निरन्तरता दिने भएको छ भने आउंदो १५ मार्चमा ह्यारो बरो फुटबल क्लवमा वार्षिक सम्मेलन गर्ने तयारी गरेको छ ।
यसै वर्ष इन्टरनेशनल नर्सेस डे पारेर मे १० मा सरेहिलमा हाइकिङ, २३ अगष्टमा वार्षिक साधारणसभा र वार्षिकोत्सव एवं २५ अक्टोबरमा च्यारिटी डिनरसहित दशैं तिहार कार्यक्रम गर्ने तय भइसकेको छ ।
एसोसिएसनकी अध्यक्ष रस्मिता दर्लामीले नेपालबाट बेलायत आउन चाहने न्यूकमर नर्सहरु र बेलायतमै नर्सिङ पेशामा आवद्ध नर्सहरुबाट आइरहने जिज्ञासा मेटाउन अब वेबीनारलाई निरन्तरता दिन लागिएको जनाइन् ।
हरेक महिनाको अन्तिम शनिबार बेलायती समय बिहान ११ देखि १२ बजेसम्म ‘भर्चुअल’ वेबीनार गरिनेछ ।
फेब्रुअरी महिनाको वेबीनार आउंदो २२ फेब्रुअरीमा गरिनेछ । यूके नर्सिङ रजिष्ट्रेसन, ओइटी, ओएससीइ एवं अनुभव आदानप्रदानमा केन्द्रित हुने उक्त वेबीनारमा कोपल्याण्डस नर्सिङ होम वेम्लीकी म्यानेजर बबी लामा, नर्स, क्लिनिकल प्राक्टिस एजुकेटर (एनएचस) एवं यूके ओइटी ट्रेनर अन्जना सापकोटा खतिवडा र एसोसिएसन अध्यक्ष एवं हिलिङ्डन हस्पिटल एनएचएस ट्रष्टकी वार्ड म्यानेजर रस्मिता दर्लामी मुख्य वक्ताका रुपमा रहनेछन् । उल्लेखित वक्ताहरु आफ्नो क्षेत्रमा दक्ष मानिन्छन् ।
कार्यक्रममा इच्छुक सबै र विशेष गरि नयां नर्सहरुलाई सहभागिताका लागि अध्यक्ष दर्लामीले अनुरोध गरेकी छन् । उनले एसोसिएसनको सदस्यता लिएर लाभान्वित हुन पनि आव्हान गरिन् ।
उता, एसोसिएसनले साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा आउंदो मार्च १५ शनिबार वार्षिक सम्मेलन गर्ने तयारी पनि शुरु गरेको छ ।
बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । ‘हामीले वार्षिक सम्मेलनलाई जानकारी र ज्ञानमूलक बनाउन खोजेका छौं । स्वास्थ्यसंग सम्बन्धित विज्ञहरुबाट महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुनेछ’, अध्यक्ष रस्मिताले बताइन् ।
वक्ताहरुले नव आगन्तुक नर्सहरुलाई करिअर डेभलप्मेन्ट, लिडरसीप आदिबारे जानकारी दिनेछन् ।
सम्मेलनमा युनिभर्सिटी अफ हडर्सफिल्डमा डेपुटी डिरेक्टर अफ ग्रयाजुएट एजुकेसन एवं नर्सिङकी असोसिएट प्रोफेशर डा. विभा सिम्खडा र इन्टेन्सिभ केयरका कन्सल्टेन्ट नर्स सुमन श्रेष्ठ ‘एमबीइ’ लगायत वक्ताबाट कार्यपत्र प्रस्तुत हुने तय छ ।
डा. सिम्खडाले बेलायतमा अन्तर्राष्ट्रिय नर्सहरूका लागि व्यावसायिक विकास र अवसरहरु शीर्षकमा प्रस्तुति दिनेछिन् भने श्रेष्ठले सेप्सिस र नर्सिङ कागजातको पहिचान एवं व्यवस्थापनबारे बताउने कार्यक्रम छ ।
उक्त सम्मेलनमा सहभागी हुन एसोसिएसन सदस्यलाई १५ पाउण्ड र सदस्यता नलिएकालाई ३० पाउण्ड प्रवेश शुल्क लाग्ने एसोसिएसनले जनाएको छ । यसमा लाइट लन्च, चियाकफी समावेश छ ।
उता, एसोसिएसनले आगामी मे १० मा इन्टरनेशनल नर्सेस डे पारेर सरेहिलमा हाइकिङ जाने योजना बनाएको छ । संस्थाकी महासचिव श्रृजा डंगोल र वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेको संयोजनमा हाइकिङ गर्न लागिएको हो ।
२३ अगष्टमा वार्षिक साधारणसभा एवं वार्षिकोत्सवपछि २५ अक्टोबरमा नर्सहरुका लागि ‘इमर्जेन्सी फण्ड’ संकलन गर्न च्यारिटी डिनरसहित दशैं तिहार मनाइने भएको छ ।
एनएमसीमा रिकग्नाइज भएको एसोसिएसनमा रस्मिता दर्लामी नेतृत्वले विविध अनुकरणीय काम गरिरहेको छ ।
संस्थाले हालैमात्र नेपलिज डक्टर्स एसोसिएसन यूकेको सहकार्यमा स्थानीय हिलिङ्डन नेपलिज गोर्खा कम्युनिटी र युथ क्लवको सहयोगमा हेल्थ क्याम्प समेत गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५