‘मेरो भ्वाइस् र डान्स युनिभर्स’ का लागि यूके अडिसनबाट छानिए ८ प्रतिभा


लन्डन–अन्तरराष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ का लागि यूके अडिसनबाट ८ जना छानिएका छन् ।
बेलायत अल्डरसटस्थित एम्पाएर हलमा शनिबार भएको स्थलगत अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि सुमन सेन्चुरी, उरुषा केसी, सुदिप अर्याल शर्मा, सन्तोष पुन, डा. योगेन्द्र कुमार गैरे र एरिक लामा चयन भएका छन् भने मेरो डान्स युनिभर्सका लागि रोशन राई र सुनिता तामांग चयन भए ।
यूके अडिसनबाट छानिएका प्रतिभाहरु थप चरणका लागि नेपाल जाने छन् । उनीहरुको सम्पूर्ण खर्च आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ ले बेहोर्नेछ ।
मेरो भ्वाइसमा गायिकाहरु शर्मिला बर्देवा र सुनिता दुलाल एवं गंगाराज राईले निर्णायक भूमिका निर्वाह गरेका थिए । त्यस्तै मेरो डान्सको निर्णायक मण्डलमा नेपालबाट आएका अभिनेता धिरेन शाक्य, नायिका केकी अधिकारी र मोडल-डान्सर रिना थापामगर थिए ।
फाउन्डेसन अध्यक्ष अधिकारीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए । यूके अडिसनमा सहभागी सबैलाई संस्थाको तर्फबाट धन्यवाद र शुभकामना दिंदै उनले जो जहांको भएपनि एउटै नेपाली हो भन्ने भावना लिएर गीतसंगीतको माध्यमबाट संसारभरका नेपालीलाई नेपालमा जोड्न रियालिटी शो परिकल्पना गरिएको बताए ।
शो व्यवसायिक उद्देश्यले नभई नेपाली भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले गरिएको हुँदा यसले नयाँ पुस्तालाई नेपालसंग जोड्न सहयोग पुग्ने उनको विश्वास छ ।
फाउन्डेसनले अमेरिकाका सात शहरमा ७ वटा विद्यालय संचालन गर्दै आएको जनाउंदै उनले ति विद्यालयले शास्त्रीय संगीत तथा डान्स प्रशिक्षण दिने गरेको बताए ।
फाउन्डेसनद्वारा संचालित स्कुलहरुमा स-साना बालबालिकाले नेपाली मौलिक भेषभूषामा स्टेज चढ्दा आफूलाई आनन्द आउने अधिकारीले बताए । नेपाल सबैको पितृभूमि भएकाले रियालिटी शोको फिनाले नेपालमै गरिएको उनले प्रष्ट्याए ।
विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन्।
झण्डै दर्जन मुलुकका १५ ठाउँमा आयोजना हुने यो रियालिटी शोको क्यानाडा र अमेरिका अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । युरोपमा पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसन हुनेछन्।
इन्ट्रा फाउन्डेसनले आयोजना गरेको यो देशकै सबैभन्दा ठूलो रियालिटी शो भएको कार्यक्रम सञ्चालक नरेश भट्टराईले बताए । दुई रियालिटी शोमार्फत विश्वभरका नेपालीलाई भावानात्मक रुपमा नेपालीको पहिचान र परिचय दिलाउन संस्थाका डिल्ली अधिकारीले महत्वपूर्ण भूमिका खेलेको र सरकारले गर्ने काम उनले गरेको भट्टराईले बताए ।
बर्मा, थाइल्याण्ड जस्ता मुलुकबाट नेपाली भाषा सिकेर पनि कार्यक्रममा सहभागी हुने गरेका आयोजकको भनाइ छ । कार्यक्रमको फिनालेमा देशका प्रधानमन्त्रीदेखि उच्च ओहोदाका लब्धप्रतिष्ठित व्यक्तिहरु सहभागी हुने र ४ वटा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।
‘भ्वाइस्’ र ‘डान्स’ दुवै विद्यामा विजेतालाई १ करोड रुपैयां पुरस्कार छ भने फष्ट रनर अपलाई २५ लाख, सेकेण्ड रनरअपलाई १० लाख र टप टेनमा पर्ने सबैलाई एक-एक लाख रुपैंया नगदसहित पुरस्कार दिइनेछ ।
‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ यूके संयोजक संयोजक मनसुदन थापामगरले कार्यक्रममा सहभागी हुने र आ–आफ्नो क्षेत्रबाट सहयोग पुरयाउने सबैलाई धन्यबाद दिए । थापामगरले कार्यक्रम दौरानमा खटेर महत्वपूर्ण योगदान पुरयाउने व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा अमेरिकाबाट आएका इन्ट्रा फाउन्डेसन अध्यक्ष अधिकारीलगायत १० जना बोर्ड सदस्य, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय कलाकारहरुको समेत सहभागिता थियो । कार्यक्रम शुरु हुनु अघि आयोजक एवं कलाकारहरुलाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५