युद्धविराम सम्झौता अघि जेलेन्स्कीले मागे युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । तस्बिर-एएफपी
म्यूनिख (जर्मनी), फागुन ३ गते– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।
मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका हुन् ।
जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्यूनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्ध समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ ।
म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्ध अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
“हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ,” भान्ससँगको पहिलो भेटपछि उनले भने ।
जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबिसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, “संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नका लागि निकै कम मौका हुनेछ ।”
यसबीच भान्सले जेलेन्स्कीसँग ‘राम्रो कुराकानी’ भएको बताएका छन् र युद्ध अन्त्य गर्ने अमेरिकी ट्रम्प प्रशासनको लक्ष्यलाई स्वीकार गरेका छन्।
“हामी पूर्वी युरोप दुई वर्षपछि द्वन्द्वमा फस्ने खालको शान्ति नभई स्थायी तथा दिगो शान्ति हासिल गर्न चाहन्छौं,”- भान्सले भने ।
जेलेन्स्कीले एक्समा उल्लेख गरे अनुसार युद्दविराम र शान्ति वार्ताबारे थप छलफलका लागि वासिङ्टनबाट एक जना दूतले किएभको भ्रमण गर्नेछन् ।
उनले लेखेका छन्, “हामी वास्तविक र प्रत्याभूत शान्तितर्फ जतिसक्दो चाँडो अघि बढ्न तयार छौँ ।”
युक्रेनी नेताले पुटिनको ९० मिनेट लामो फोन वार्तापछि यसै साता ट्रम्पसँग भएको फोन वार्ता ‘सुखद नभएको’ बताएका थिए ।
अमेरिकी अधिकारीहरूले रुसको आक्रमणसँग लडिरहेको तीन वर्षपछि युक्रेनलाई चिसोमा नछोड्ने बताएका छन् । म्यूनिख बैठकअघि भान्सले संयुक्त राज्य अमेरिका रुसलाई दबाब दिन तयार रहेको बताउँदै युरोप ‘निश्चित रूपमा’ टेबलमा रहनुपर्ने बताए ।
उनले युरोपलाई आफ्नो प्रतिरक्षा मजबुत बनाउन र वासिङ्टनलाई विश्वका अन्य देशहरूमा खतराप्रति ध्यान केन्द्रित गर्न अनुमति दिन पनि आग्रह गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५