शान्ति वार्ताका लागि ट्रम्पको प्रस्ताव, आ-आफ्नै शर्तमा मस्को र किएभ
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
किएभ, फागुन १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार छापिएका छन् ।
तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताहरूले उनीहरूको अडानबारे समीक्षा गरेका छन् ।
सङ्घर्षको ‘मूल कारण’ सम्बोधन हुनुपर्छः रूस
ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताएका थिए ।
रूसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र वासिङ्टनसँग युद्ध सुरु गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई सङ्केत गर्दै यो कदम चालिएको हो ।
ती मागहरूले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेका थिए, जसमा पूर्व सोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यहरूबाट अमेरिकी र नेटो सेनाहरूको फिर्ता समावेश थियो । उनीहरू सबै नेटो र ईयू सदस्यहरू हुन्।
रूसले नेटोसँग युक्रेनलगायत अन्य कुनै पनि पूर्व सोभियत राष्ट्रलाई सदस्यता प्रदान नगर्ने वा पूर्व सोभियत सङ्घको भूभागमा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ ।
क्रेमलिनले आक्रमण गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रूसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई अस्वीकार गर्दै आएको छ ।
मस्कोले सन् २०२२ मा युक्रेनका चारवटा दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको र सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ ।
जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । आक्रमणपछि लागू गरिएको सैनिक कानुनअन्तर्गत जेलेन्स्की नेता रहेका हुन् र उनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेका छन् ।
पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । रूसी नेताले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् र ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध सुरु हुने थिएन भन्ने समेत बताएको समाचारहरुमा उल्लेख छ ।
न्यायपूर्ण शान्तिको सुनिश्चितताः युक्रेन
युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्य होस् र युक्रेनले भविष्यमा हुने रूसी आक्रमणहरू रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने चाहन्छन् र नेटोको सदस्यता वा ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडीलाई रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने माग राख्छन् ।
उनले वार्तामा युक्रेन, रूस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलार्ई पनि समावेश गर्नुपर्ने बताउँदै आएका छन् किनभने हाल इयूको सदस्यताको उम्मेदवारका रुपमा रहेको किएभ समूहमा सामेल हुने आशामा जेलेन्स्की छन् ।
किएभले रूसलाई आफ्नो भूभाग सुम्पन अस्वीकार गरिरहेको छ । तर जेलेन्स्कीले युक्रेनले कूटनीतिको माध्यमबाट केही भूभाग पुनः प्राप्त गर्न सक्ने बताएका छन् ।
उनले शान्ति सूत्र र विजय योजना गरी दुई दस्तावेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीहरूलाई भेला गर्ने प्रयास गरेका छन् । उनले किएभबाहेकको वार्ता असफल हुने बताएका छन् ।
युक्रेनले गत अगष्टमा रूसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो र यो क्षेत्र कुनै पनि वार्तामा एक महत्वपूर्ण लेनदेनको विषय हुने बताएको थियो । यसै साताको सुरुमा उनले युक्रेनमा रूसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सारेका थिए ।
यसअघि उनले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताएका थिए ।
पृष्ठभूमि
“रूसले कुनै पनि सम्झौताबिना किएभले रूसले निगरानी जारी राख्नेछ,” विगतका धेरै सम्झौताहरूलाई सङ्केत गर्दै जेलेन्स्की र युक्रेनी उच्च पदस्थ अधिकारीको दावी छ ।
सन् २०२२ जुलाईमा मस्को र किएभले टर्की र संयुक्त राष्ट्रसङ्घसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले युक्रेनलाई अनाज निर्यात गर्न ‘ब्ल्याक सी’मा रूसी नौसैनिक नाकावन्दीलाई बाइपास गर्न अनुमति दिएको थियो ।
क्रेमलिनले प्रतिबन्धको अन्त्य गर्ने राहतको मागलाई बेवास्ता गरिएको गुनासो गर्दै एकतर्फी रूपमा एक वर्षपछि सम्झौता अन्त्य भएको घोषणा गरेको थियो।
फ्रान्स, जर्मनी, युक्रेन र रुसले बेलारूसको राजधानी मिन्स्कमा क्रेमलिन समर्थित पृथकतावादी शक्ति र किएभबीचको लडाइँ अन्त्यका लागि शान्ति सम्झौता गर्ने प्रयास गरेको एक दशकपछि म्यूनिखमा यो साता वार्ता भएको हो ।
ती नाजुक सम्झौताहरूले रुसी समर्थित पृथकतावादीहरूलाई पूर्वी युक्रेनको ठूलो भूभागमा वास्तविक नियन्त्रण प्रदान गरेको थियो । यसले रूसलाई सन् २०२२ को पूर्णरूपमा आक्रमण सुरु गर्न आफ्नो सेना निर्माण गर्न समय दिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५