बुधबार, माघ ३०, २०८१
19:23 | ०१:०८

एनआरएनए यूके अध्यक्षसंग बेलायती अधिराजकुमारले राखे बेलायतका नेपालीबारे चासो

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२५

लन्डन- गतसाता नेपालको छ दिने भ्रमणमा गएका बेलायती अधिराजकुमार एडवार्डसंग एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले पनि भेटघाट गरेका छन् ।

नेपाल भ्रमणका क्रममा कास्की पुगेका अधिराजकुमार दम्पत्तिलाई बेलायत बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै आफूले नेपालमा स्वागत गरेको अध्यक्ष गुरुङले नेपालीलिंकलाई बताए ।

‘बेलायत र नेपाल ऐतिहासिक सम्बन्ध भएका दुई मित्रराष्ट्र हुन् । बेलायती अधिराजकुमारको नेपाल भ्रमणले दुई देशबीचको यही सम्बन्धलाई थप बलियो बनाउने काम गरेको छ’, उनले भने, ‘मैले बेलायतमा बस्ने सबै नेपालीहरुको तर्फबाट शाही दम्पतिलाई मातृभूमिमा स्वागत गर्ने अवसर पाएं । नेपाल भ्रमणमा आउनुभएकोमा उहाँहरुप्रति आभार पनि प्रकट गरे।’

भेटका अवसरमा बेलायती अधिराजकुमारले बेलायतमा रहेका नेपालीहरुबारे चासो प्रकट गरेको अध्यक्ष गुरुङले बताए ।

‘बेलायतमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्थाको नेतृत्वका नाताले मैले यहाँका नेपालीबारे अवगत गराएं । हाम्रो समुदायको अवस्थाबारे संक्षिप्त बताएं । उहाँले पनि चासोपूर्वक सुनेर जानकारी लिनुभयो’, उनले भने ।

बेलायती राजा चार्ल्सका कान्छा भाइ अधिराजकुमार एडवार्ड र पत्नी सोफीले यो वर्षकै पहिलो भ्रमण नेपालबाट शुरु गरेका हुन् ।

नेपालमा रहंदा उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । त्यस्तै, उनीहरु पोखरामा ब्रिटिश गोर्खाका नयाँ रिक्रुटको पास आउट परेडमा सहभागी भएका थिए भने घुम्नका लागि पर्यटकीय गाउँ घान्द्रुकसम्म पनि पुगेका थिए । घान्द्रुकमा २ दिन बिताएका उनीहरु होटेल स्नोल्याण्डमा बसेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू