‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स-२’ को यूके अडिसन शनिबार
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन । अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को यूके स्थलगत अडिसन यही सप्ताहन्त बेलायतमा हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न घोषणा गरेको दुई रियालिटी शोको यूके अडिसन अल्डरसटको एम्पायर हलमा १५ फेब्रुअरी शनिबार हुन लागेको हो ।
दुवै रियालिटी शोका लागि यूके अडिसनमा अहिलेसम्म २० जनाले नाम दर्ता गराइसकेको यूके अडिसनका संयोजक मनसुदन थापामगरले जानकारी दिए । मगरले इच्छुक प्रतिभाहरुलाई अझै पनि नाम दर्ता गराउन आव्हान गरेका छन् ।
सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउन्डेसनको वेवसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ । अनलाइन वा फिजिकल फर्ममार्फत अडिसनमा भाग लिन सकिनेछ । मगरले अडिसन कार्यक्रम निशुल्क भएकाले सबैलाई उपस्थित भएर नव प्रतिभाहरुमा हौसला प्रदान गर्न समेत अनुरोध गरे ।
यूके अडिसनका लागि अमेरिकाबाट आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका अध्यक्ष डिल्ली अधिकारीसहित अन्य आयोजक र कलाकार गरि १२ जना यही १२ फेब्रुअरी लन्डन आइपुग्दै छन् भने नेपालबाट कलाकारहरु केकी अधिकारी, सुनिता दुलाल, धिरेन शाक्य र सञ्चारकर्मी नरेश भट्टराई १३ तारिख बेलुका लन्डन आइपुग्ने कार्यक्रम छ ।
‘मेरो भ्वाइस युनिभर्स सिजन २’ का लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा छन् भने ‘मेरो डान्स युनिभर्स सिजन २’ का लागि निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।
![](https://www.nepalilink.com/wp-content/uploads/2025/02/363442644_6860114250677942_7420347857284144725_n.jpg)
यूके अडिसनका लागि सम्पर्क गर्नु परेमा संयोजक मनसुदन थापामगर- 07491951117
सन् २०२३ मा रियालिटी सो को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो ।
दोश्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगल, पूर्वी एसियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतार, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।
विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि काठमाण्डौं लगिने बताइएको छ । भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरि २४० जना एवं यूकेबाट सहभागी प्रतिभाहरुको स्तर हेरि बढीमा ५ जनासम्म छनोट गरि अर्को राउण्डका लागि नेपाल लगिने आयोजकले जनाएका छन् ।
विश्वभर छरिएर रहेका नेपालीमूल अर्थात नेपाली जातीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरुलाई जहां बसेपनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शो गरिएको आयोजकको भनाइ छ ।
संसारभरका नेपालीहरुको नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, सम्वर्धन र उत्थान
गर्नु फाउन्डेशनको मूलभूत उद्देश्य छ । नेपाली जातिप्रतिको यही भावनालाई एउटै मालामा गांस्न सकियो भने हाम्रो सांस्कृतिक पहिचान पुस्ता पुस्तासम्म पनि जीवित राख्न सकिन्छ भन्ने विश्वास आयोजकले लिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५