मंगलबार, माघ २९, २०८१
01:04 | ०६:४९

बेलायतमा सांसदहरु कति कमाउँछन् वार्षिक ?

अप्रिलदेखि वार्षिक तलब ९३ हजार ९ सय ४ पाउन्ड

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२५

फाइल तस्विर: वेस्टमिनिस्टरस्थित बेलायती संसद भवन ।

लन्डन- बेलायती सांसदहरुको आधारभूत तलब आगामी अप्रिल महिनादेखि वृद्धि हुने भएको छ। हालको तलबमा २ दशमलव ८ प्रतिशत वृद्धिसहित सांसदको वार्षिक तलब ९३ हजार ९ सय ४ पाउन्ड पुर्याउन लागिएको हो।

संसदको खर्चसम्बन्धि वाचडग निकाय ‘इन्डिपेन्डेन्ट पार्लियामेन्ट्री स्टयान्डर्ड अथोरिटी’ (इप्सा) ले सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुसंग सन्तुलन कायम गर्ने उद्धेश्यले सांसद तलब बढाउन सिफारिस गरिएको जनाएको छ।

सांसदको तलब वृद्धिसम्बन्धि प्रस्ताव हाल परामर्शको चरणमा छ । आगामी मार्चको मध्यतिर यसबारे अन्तिम निर्णय लिइने जनाइएको छ।

सांसदको तलब वृद्धिका लागि गरिएको प्रस्तावमा विभिन्न संसदीय समितिका प्रमुख रहेबापत उपलब्ध हुने अतिरिक्त भत्ता पनि सोही दरमा बढाउन सुझाव दिइएको छ। संसदीय समितिहरुको नेतृत्व गर्ने सांसदहरुलाई आधारभूत तलबबाहेक १८ हजार ३ सय ९ पाउन्ड वार्षिक मिल्ने गरेको छ।

केही महिनापछि बेलायती सांसदहरूको तलबबारे फेरि व्यापक समीक्षा गर्ने तयारी छ । जसबाट उनीहरूलाई अप्रिल २०२६ देखि दिइने तलब निर्धारण गरिनेछ।

बेलायती सांसदहरुको तलब समिक्षाका क्रममा विभिन्न आधारहरुको विश्लेषण गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा निर्वाचित राजनीतिज्ञहरूले पाउने तलबसंग समेत तुलना गरेर बेलायती सांसदहरूलाई तलब निर्धारण हुने गरेको छ।

विगतमा बेलायती सांसदहरूको तलब निर्धारण गर्ने अधिकार सांसदहरुमै थियो। तर, सन् २००९ मा भएको सांसदहरुको खर्चसम्बन्धि ‘स्क्यान्डल’ पछि भने यो प्रक्रियालाई थप पारदर्शी र स्वतन्त्र बनाउने प्रयासमा ‘इप्सा’ स्थापना गरिएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू