मे महिनामै एकता महाधिवेशन गर्न एनआरएन अभियन्ताहरुको जोड
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
न्यूयोर्क – गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कानूनविद्हरुले एनआरएनए उच्चस्तरीय समितिले तोकेकै मितिमा संघको एकता महाधिवेशन गराउन जोड दिएका छन्।
शनिबार यहाँ आयोजित एक अन्तरक्रियामा बोल्दै एनआरएनएका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सर्वोच्च अदालतको परमादेश बमोजिम उच्चस्तरीय समितिले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौँमा एकता अधिवेशन गर्न मिति तय गरेको जनाउँदै उक्त अवधिमा काठमाडौँमा भेला भएर संघलाई एकजुट गर्न र नयाँ दिशा दिन आग्रह गरे। उनले आपसी विवादमा नअल्मलिएर सहकार्य र सहमतिमा अगाडि बढ्नु पर्ने बताए। उनले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको वाधा व्यवधान अन्त्य गर्दै त्यसलाई लागू गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।
अमेरिकामा कार्यरत वरिष्ठ कानूनविद् खगेन्द्र जीसीले एनआरएनहरु आफैमा विभाजित भएकाले गैर आवासीय नेपाली नागरिकताजस्ता महत्वपूर्ण मुद्दाहरु छायाँमा परेको जनाए । उनले सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम एकताको महाधिवेशन गराउन उच्चस्तरीय समितिलाई कुनै वाधा व्यवधान नरहेको जनाए। जीसीले सबै एनआरएनहरुलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थालाई एकजुट बनाउन सहकार्य गर्न अपिल पनि गरे।
एनआरएन आइसीसीका उपाध्यक्ष डा केशव पौडेलले संघमा एकता आवश्यक रहेको भन्दै उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयसंग समन्वय गरी छिटो भन्दा छिटो सहमति गरेर मे महिनामा हुने चुनाव सम्पन्न गर्न आग्रह गरे। “सम्पूर्ण एनआरएनलाई सहभागी गराएर मे महिनामै एकताको अधिवेशन गराउनु पर्छ । यसको विकल्प छैन,” उनले भने ।
एनआरएन आइसीसीका महासचिव बुद्धि सुवेदीले विगतमा पनि संस्थालाई एकजुट गर्न संघका राष्ट्रिय समन्वय समितिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै अहिले संस्था संकटमा परेको बेला फेरी त्यस्तै संयोजनकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले एनआरएन नागरिकता बोकेका आफ्नै नागरिकलाई भिसा लगाउ भन्नु हास्यास्पद रहेको भन्दै तत्काल त्यस्तो प्रावधान सच्याउन आग्रह गरे। उनले सबैलाई सहमतिमा ल्याएर आउँदो मे महिनामै एकता महाधिवेशन गराउन आग्रह गरे ।
त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति बिष्णु सुवेदीले अहिले नेपालमा दुइ प्रमुख दलहरुको गठबन्धन सरकार रहेकाले चनाखो भएर सरकारसंग सहमति गरेर अधिवेशन गराउन उच्चस्तरीय समितिलाई आग्रह गरे।
एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य अमेरिका आएको बेला पारेर एनआरएन अभियन्ता मिन खड्काले उक्त अन्तरक्रिया तथा भेटघाट संयोजन गरेका थिए। अन्तरक्रियामा एनआरएन अभियन्ताहरु सूर्य लम्साल, संजीव श्रेष्ठ, कृष्ण पोखरेल, विश्व वास्तोला, नवीन शेरचन, अनिता परियार, रेणु सुवेदी लगायत सहभागी थिए।
अन्तरक्रियामा बोल्दै एनआरएन अभियन्ताहरुले सर्वोच्च अदालतको फैसलालाई तोडमोड नगर्न र सर्वोच्चको परमादेश अनुरुप उच्चस्तरीय समितिले तोकेकै मितिमा संघको एकता महाधिवेशन गराउन आग्रह गरेका थिए ।