आइतबार, माघ २७, २०८१
21:54 | ०३:३९

बेलायतमा नेपालीले किने १ अर्ब ७५ करोडमा सपिङ मल (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२५

पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका संस्थापक निर्देशक पुरन गिरी

लन्डन- नेपाली उद्यमीहरुले बेलायतको अल्डरसटमा झण्डै एक अर्ब ७५ करोड रुपैयांमा सपिङ मल रहेको भवनसहितको प्रपर्टी खरिद गरेका छन् ।

नेपाली जनसंख्या उल्लेख्य रहेको अल्डरसटको वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी १० मिलियन पाउण्डमा खरिद भएको हो ।

एल एन्ड सी इन्भेस्टमेन्ट लन्डन एन्ड क्यामब्रीजबाट पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले उक्त मलको स्वामित्व शुक्रबारदेखि लिएको हो ।

नेपाली उद्यमीहरुले खरिद गरेको यो प्रपर्टी नै अहिलेसम्म बेलायतमा सबैभन्दा ठूलो ठानिएको छ ।

अल्डरसट टाउनको मेन सपिङ मल वेलिङटन सेन्टरमा ५६ वटा विजनेश युनिट, संगै जोडिएको भिक्टोरिया हाउस (९ तले अफिस भवन जसलाई इन्टरप्राइजहरुको हेडक्वार्टर मानिन्छ) र युनियन स्ट्रिटमा ६ वटा फ्रि-होल्ड भवन खरिद गरिएको पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका संस्थापक निर्देशक पुरन गिरीले नेपालीलिंकलाई जानकारी दिए ।

सपिङ मलका एउटै युनिट ४० हजार स्क्वायर फिटसम्म छन् । पीआरएन इन्भेष्टमेन्टले खरिद गरेको प्रपर्टीमा स्पेकसेभर, म्याकडोनाल्डस, सबवे, जेडी स्पोर्टस्, पिककक, नेसनवाइड बैंक, पोस्ट अफिस, बुट्स, जिमखाना, लगायत रिटेल छन् । ५ सय क्षमताको कार पार्क समेत छ ।

पिआरएन इन्भेष्टमेन्ट लिमिटेड टीममा पुरनसंगै राजकुमार गुरुङ र नारायण गिरी पनि छन् ।

पीआरएन इन्भष्टमेन्ट लिमिटेडका पुरन गिरी, राजकुमार गुरुङ र नारायण गिरी

अल्डरसटकै प्रतिष्ठित एम्पायर हल सञ्चालक गिरीले यो आफ्नो व्यवसायिक जीवनको सबैभन्दा ठूलो खुड्किलो भएको बताए ।

‘यो प्रोजेक्टका कारण मेरो कपाल नै सेतो भयो । झण्डै ६/७ महिना समय लाग्यो’, गिरीले भने, ‘धेरै ठूलो लोन भएकाले लामो प्रोसेस भयो । लेन्डरले गाहो पनि बनाएको थियो ।’ साधारण घर किन्ने जस्तो नभई यस्ता प्रपर्टीमा लेन्डरले रेन्टल भ्यालु कति हुन्छ भनेर हेर्ने उनले बताए ।

व्यवसायी गिरीले व्यवसायिक जीवनको सबैभन्दा ठूलो ‘स्टेप’ चालिएको बताउंदै यो यात्रा निकै ‘स्ट्रेसफुल’ भएको अनुभव पनि सुनाए । ‘अब अर्को अध्याय झन् चुनौतिपूर्ण छ’, गिरीले भने, ‘हामी यसै पनि यहींको रैथाने भएका थियौं । अब स्थानीय काउन्सिलसंग समन्वय गरेर अघि बढ्ने मौका पनि मिलेको छ । विभिन्न रिटेल सपहरुसंग हातेमालो गरेर अगाडि बढ्ने योजना छ ।’

उक्त सपिङ मलबाट गत वर्ष नेट आम्दानी १ दशमलव २ मिलियन पाउण्ड र ग्रस आम्दानी २ दशमलव ५ मिलियन पाउण्ड भएको गिरीले जनाए ।

आफ्नो कम्पनीले खरिद गरेको यो प्रपर्टी आफ्नो व्यक्तिगत लाभमा मात्र नभइ बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र गौरवको विषय बनोस् भन्ने चाहना गिरीको छ । अब प्रपर्टीको व्यवस्थापन, सुरक्षा, सरसफाइलगायतका काममा धेरै नेपालीहरुका लागि पनि रोजगारी सिर्जना गर्न सक्ने आशा उनले गरेका छन्।

सन् २०१५ मा एम्पायर हल र सन् २०२२ देखि सुसी मोटो सञ्चालन गर्दै आएका गिरीसंग प्रपर्टी र हस्पिटालिटीमा लामो अनुभव छ । बेलायतमा नेपालीको पहिलो ट्याक्सी बिजनेश गिरीले नै शुरु गरेका थिए ।

पीआरएन लिमिटेडका निर्देशक पुरन गिरीका साथ फिसटेल प्रपर्टी सोलुसनका मिलन गुरुङ र प्रमोद गुरुङसंगै किङ्सगेट फाइनान्सका प्रजेश श्रेष्ठ

फिसटेल प्रपर्टी सोलुसनले पिआरएनको एसेट म्यानेजमेन्ट जिम्मा लिएको छ । एसेट म्यानेजर मिलन गुरुङले म्यानेजमेन्टका हिसाबले ठूलो प्रोजेक्ट भएकाले धेरै मेहनत (हार्ड वर्क) गरिएको बताए । ‘ओभरअल नेपाली कम्युनिटीमा यो बिगेस्ट एचिभमेन्ट र माइलस्टोन हो’, मिलनले भने, ‘बिजनेश र फाइनान्सियल ग्रोथ अनि डेभलपमेन्टका लागि यो बिगेस्ट स्टेप हो ।’

उक्त प्रपर्टी खरिदमा मोर्गेजसहितका सबै फाइनान्सियल जिम्मेवारी सम्हालेको  किङ्सगेट फाइनान्सका प्रजेश श्रेष्ठले आफ्नो लागि पनि अहिलेसम्मकै ठूलो प्रोजेक्ट भएको बताए ।

‘सुरुमा भन्दा त डर लाग्याथ्यो । यति ठूलो प्रपर्टी लिन डिपोजिट पनि धेरै चाहिन्छ, डकुमेन्ट पनि त्यस्तै, प्रजेशले भने, ‘धेरै दुःख गर्नु पर्‍यो’, इन्टरनल कम्प्लाइन्सबाट अप्रुभ भएपछि बल्ल लेन्डरलाई अप्रोच गर्‍यौं । यसमा टिम वर्क छ ।’

यस प्रोजेक्ट सफल बनाउन स्थानीय पूर्व काउन्सिलर जीव बेल्वासेसहित कयौं कम्युनिटी लिडरहरुको योगदान छ ।

हेरौं भिडियोः

तस्विरहरु:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू