बेलायती सेनामा थपिए २७४ नेपाली युवा, अधिराजकुमार दम्पत्ति परेडमा
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
पोखरा- बेलायती अधिराजकुमार दम्पत्ति पोखरामा आयोजित गोर्खा परेडमा सहभागी भएका छन् ।
बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाको प्रमाणीकरण परेडमा बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड पत्नी अधिराजकुमारी सोफीसहित सहभागी भएका हुन् ।
प्रमाणीकरण परेडमा अधिराजकुमार र राजकुमारीले छनोट प्रक्रियाको अन्त्यमा पुगेका नेपाली युवाको महत्वपूर्ण क्षणको अवलोकन गरे जहाँबाट बेलायती सेनामा भर्ना हुने २७४ नेपालीको सैन्य पेशागत जीवन सुरु भएको ठहरिन्छ ।
औपचारिक कार्यक्रमपछि अधिराजकुमार र राजकुमारीले नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरे ।
यस वर्ष अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रियापछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट नयाँ भर्ती भएकाका परिवारका सदस्यहरू उपस्थित थिए ।
समारोहमा अधिराजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार मध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
छनोटमा सफल भएका २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरु एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रिया पछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरू ९ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।
समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्णेल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ, गोर्खा ब्रिगेडका डेपुटी कर्णेल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी, ब्रिटिश गोर्खा नेपाल (बिजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्णेल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरण अवलोकन गरे ।
परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुईवटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो ।
ब्रिटिश गोर्खाज पोखरा (बीपीपी) मा भएको भर्ती इन्टेक २५ (आरआइ२५) प्रमाणीकरण परेड ब्रिटिश गोर्खाज नेपाल (बिजिएन) द्वारा सञ्चालित तीन चरणको छनोट प्रक्रियाको अन्तिम क्रियाकलाप हो ।
यस वर्ष गोर्खा सैनिक बन्न गत मार्च महिनाभर १३ हजार बढी युवाले आवेदन दिएका थिए । ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी’ भन्ने गोर्खा भर्तीको मन्त्र परिपालना भएको सुनिश्चित गर्न सम्पूर्ण प्रक्रिया स्वतन्त्र हुने विश्वास गरिन्छ ।
गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) ‘एरिया वेल्फेयर केन्द्र’ (एडब्लुसी) कास्कीमा अधिराजकुमार र राजकुमारीले संयुक्त अधिराज्यले विभिन्न परोपकारी संस्थामार्फत बेलायती सेनामा काम गरेकाहरुलाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराएको छ भन्ने कुरा पनि प्रत्यक्ष अवलोकन गरे ।
उनीहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम हेर्न पनि केही समय बिताए जहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक वा उनीहरूका विधवालाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ । यसका साथै अधिराजकुमार दम्पत्तिले नेपालमा कदुरी कृषि सहायता संघ (केएएए) को कामबारे जानकारी लिए ।
आवासीय गृह भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले १०४ वर्षीया आशा कुमारी तामाङलाई भेटे जसका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गरेका थिए । उनी सन् २०११ देखि त्यस आवासीय गृहमा बस्दै आएकी छिन् ।
पृष्ठभूमि
गोर्खा वेल्फेयर ट्रस्ट भूपू गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरु (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका) लाई आर्थिक सहायता प्रदान गर्न भएको थियो ।
आज ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई नेपालमा (र भारत जहाँ केही गोर्खा लाभग्राहीहरूले आर्थिक र स्वास्थ्य सहयोग प्राप्त गरिरहेका छन्) सम्मानित जीवन बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गर्न आर्थिक, स्वास्थ्य र विकासजन्य सहायता प्रदान गर्दछ ।
नेपालस्थित ५१५ जनाको प्रभावकारी टोलीमार्फत ट्रस्टले नेपालभरि उल्लेखनीय प्रभाव पारेको छ, प्रत्येक वर्ष लगभग २ करोड ४० लाख पाउण्ड विभिन्न कार्यमा खर्च गर्दै आएको छ ।
जस्तै: हजारौं गरिब भूपू गोर्खा सैनिक र विधवाहरूलाई कल्याणकारी पेन्सन र अनुदान, जसले उनीहरू सम्मानका साथ बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गरेको छ । भूकम्पपछि राहत र उत्थानशील आवास (ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका विधवाहरूका लागि तत्काल राहत सहयोग उपलब्ध गराउनुका साथै १,७५० भन्दा बढी भूकम्प–प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ ),स्वास्थ्य उपचार सेवाः भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
गत वर्ष २१ हजार २०० भन्दा बढी बिरामीले चिकित्सा सेवा प्राप्त गरे, स्वच्छ खानेपानी र सरसफाइ (गत वर्ष मात्र १,५९० धारा जडान गरी दुर्गम समुदायहरूमा स्वच्छ खानेपानी पुर्याउने काममार्फत ८ हजार ८०० भन्दा बढी व्यक्ति लाभान्वित भएको) र शिक्षाः ट्रस्टको विद्यालय कार्यक्रमले दुर्गम क्षेत्रहरूमा विद्यालयहरू निर्माण र मर्मतसम्भार गर्दछ जसले नेपाली बालबालिकाहरूको शिक्षामा पहुँच सुधार हुनपुगेको छ ।
ब्रिगेडियर ‘बनी’ बर्नेटले सर होरेस कदुरीलाई नेपालमा रहेका भूपू सैनिकहरूलाई ब्रिगेड अफ गोर्खाजले कसरी राम्रो सहयोग पुर्याउन सक्छ भन्ने बारेमा चासो व्यक्त गर्दा कदुरी कृषि सहायता संघ सन् १९६८ बाट सुरु भएको हो ।
योजना सुरु भएदेखि कदुरी परिवारले नेपालका पहाडी समुदायहरूको सहयोगार्थ १२ करोड ५० लाख पाउण्ड उपलब्ध गराइसकेको छ ।
संघले हाल कृषिमा भन्दा पनि पूर्वाधार इन्जिनियरिङ र तालिमको क्षेत्रमा धेरै काम गर्छ तर सारमा यो ‘आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्ने’ र ‘वञ्चितीकरणमा परेकाहरुको जीवनमा अवसर निम्त्याउने’ बारे हो । संघलाई पूर्णतः कदुरी चैरिटेबल फाउन्डेसनले आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
एमओडीको अनुरोध र उनीहरूको सहयोगमा यो गोर्खा कल्याण ट्रस्टसँगै कार्यान्वयन साझेदारको रूपमा काम गर्दछ । सामान्यतया प्रतिवर्ष लगभग ७ करोड ५ लाख पाउण्ड बराबरका क्रियाकलापहरुमा पूर्वाधार, रोजगारी तालिम, विशेष परियोजनाहरू र केही स्वविवेकी योजनाहरू समावेश हुने गर्छन् ।
पछिल्लो समय यसले २०७२ साल को भूकम्पमा नष्ट हुन पुगेकालाई प्रतिस्थापन गर्न ८०० वटा घर निर्माण गर्नुका साथै नेपालको कोभिड प्रतिक्रियामा उदारतापूर्वक योगदान दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५