मंगलबार, माघ २२, २०८१
22:57 | ०४:४२

बेलायतमा एआई दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने कार्य अपराध मानिने

रासस/एएफपी फ्रेब्रवरी ३, २०२५

लन्डन, माघ २१ गते । यौन दुव्र्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले कानून घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुव्र्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ ।

बालबालिकाको यौनिक तस्बिर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानूनी घोषणा गरेको गृहमन्त्री यवेट कुपरले बताएकी हुन् ।

उनका अनुसार बच्चाहरूलाई यौन दुव्र्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ ।

गृहमन्त्री कुपरले आइतबार स्काई न्यूजसँग भनिन्, “अनलाइन बाल यौन दुव्र्यवहार सामग्री बढ्दो छ । किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ । यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ ।”

उनले थपिन्, “एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुव्र्यवहारमा फसाउन प्रयोग गरिरहेका छन् ।”

“यो सबैभन्दा घृणित अपराध हो,” उनले भनिन् । “नयाँ कानूनले ‘बाल दुव्र्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,” कुपरको भनाइ थियो ।

“अन्य देशहरूले अझै यो (कानुन बनाउने काम) गरिरहेका छैनन्, तर मेरो विचारमा अरू सबैले यसलाई पछ्याउनेछन्,” उनले भनिन् ।

एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ ।

नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूका लागि डिजाइन गरिएको वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ ।

कुपरले आइतबार बीबीसीसँग भनेकी छन्, “हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिका कुनै न कुनै रूपमा दुव्र्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ ।

यी उपायहरूलाई संसदमा ‘क्राइम एण्ड पोलिसिङ बिल’को एक भागको रूपमा प्रस्तुत गरिनेछ ।

इन्टरनेट वाच फाउन्डेसन (आइडब्लुएफ) ले यौन दुव्र्यवहारका घटनामा बालबालिकाको एआई तस्बिर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ ।

सन् २०२४ मा ३० दिनको अवधिमा आइडब्लुएफका विश्लेषकहरूले एउटै डार्क वेबसाइटमा तीन हजार ५१२ एआई बाल दुव्र्यवहार छविहरू पहिचान गरेका थिए । सबैभन्दा गम्भीर श्रेणीका तस्बिरको सङ्ख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू