सोमबार, माघ २१, २०८१
14:56 | २०:४१

लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक सरस्वतीपूजा र अक्षर आरम्भ

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२५

लन्डन-लन्डन प्लमस्टिडस्थित पशुतिनाथ मन्दिरमा वसन्तपञ्चमीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

आइतबार मन्दिरमा आयोजित सामूहिक सरस्वतीपूजा एवम् अक्षर आरम्भ कार्यक्रममा झण्डै चार दर्जन बालबालिकाको सहभागिता रह्यो ।

सो अवसरमा बालबालिकाहरुलाई धर्म, संस्कारसम्बन्धि ज्ञान सिकाउने उद्धेश्यले विभिन्न प्रश्नोत्तर तथा चित्रकलामा समेत सहभागी गराइएको थियो।

मन्दिरका संरक्षक एवम् मूल पण्डित निलहरि घिमिरेले बालबालिका, तिनका अभिभावक र अरु श्रद्धालु भक्तजनसहित दुई सय बढीको सहभागितामा वसन्तपञ्चमी मनाइएको बताए।

वसन्तपञ्चमीको पावन अवसरमा सबै बालबालिकालाई सरस्वतीपूजा तथा साना बालबालिकालाई अक्षर आरम्भ पनि गराइएको उनले जनाए।

त्यस्तै, हेथल पाथियरले बालबालिकालाई चित्रकला तथा प्रश्नोत्तरका माध्यमबाट सिकाएकी थिइन्। चित्रकला र प्रश्नोत्तरमा उत्कृष्ट चार बालबालिकालाई पुरस्कृत गरियो।

सो अवसरमा मन्दिरका मूल पण्डित निलहरि घिमिरे, बेलायतमै कार्यरत बाल चिकित्सक डा बनिरा श्रेष्ठ, बाल नर्स सुनितालगायतले बालबालिकालाई विद्याकी देवी सरस्वतीका साथै धर्म, संस्कारसम्बन्धि विविध विषयमा जानकारी गराएका थिए।

पूजाआजाको कार्यक्रम मन्दिरका तीन पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीले सञ्चालन गरेका थिए । मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपाल अर्याल, पण्डित घिमिरे, सरिता पौडेल, कल्पना त्रिपाठी र डा बनिरा श्रेष्ठले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए।

मन्दिरमा भेला भएका अभिभावकहरुको सहभागितामा भजनकिर्तन समेत गरिएको थियो । गुनाखर गौतम, रामु सापकोटासहितका स्वयमसेवकहरुले उपस्थित सबै बालबालिका, अभिभावक र भत्तालुहरुको लागि चियापान तथा प्रसाद तयारी गरेका थिए।

सोही अवसरमा ओम शान्ति नेपाल यूकेको तर्फबाट जगत न्यौपानेले पण्डितहरुलाई दोसल्ला ओढाएर सम्मान गरे।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपाल अर्यालले वसन्तपञ्चमी विशेष कार्यक्रम सफल पार्न योगदान गर्ने सबै बालबालिका, अभिभावक र भक्तजनहरुसंगै स्वयमसेवकहरु र सिंगो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेका छन्।

तस्विर- प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू