आइतबार, माघ २०, २०८१
18:53 | ००:३८

बेलायती राजाको सुरक्षा दलमा भूतपूर्व गोर्खा खाम्चामगर (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२५

लन्डन । बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा एक भूतपूर्व ब्रिटिश गोर्खा छनोट भएका छन् । ब्रिटिश सेनाको उच्च तह लेफिटनेन्ट कर्णेलबाट अवकास प्राप्त टोलबहादुर खाम्चामगर ‘किंग्स् गार्ड’ मा छनोट भएका हुन् । 

आउंदो फेब्रुअरी २० तारिखदेखि ड्युटी शुरु हुने मगरले जनाए । राजा चार्ल्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा आफ्नो कर्तव्य भएको खाम्चामगरले बताए । 

गत अक्टोबरमा अप्लाइ गरेका उनले विभिन्न क्राइटेरियासहित तीन चरणको अन्तर्वार्ता पुरा गरेर गत बिहीबार छनोट भएको खबर पाएको जनाए । 

ब्रिटिश सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाए नपाएको जस्ता कुराबाट छनोट हुने खाम्चामगरले बताए ।

‘पहिला राजदरबारका निकटलाई मात्र छनोट गरिन्थ्यो । पछि इक्वेलिटी एण्ड डाइभर्सिटी र इन्क्लुसिभ हुनुपर्छ भनेपछि ब्रिटिश आर्मी, नेभी, रोयल एयर फोर्सलाई पनि दिन थालियो’, नेपाली लिंकसंगको संवादमा मगरले भने, ‘गोर्खाबाट छानिने म पहिलो हुं । किंग्स् गार्ड सेरेमोनियल ड्युटीका क्रममा टिम नै संलग्न हुन्छ । हेड अफ स्टेटको भिजिटका बेला, संसद शुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुंदा आदि समारोहमा किंग्स् गार्ड परिचालन गरिन्छ ।’

बेलायत र नेपालबीच २०८ वर्ष बढी लामो कूटनीतिक सम्बन्ध छ । गोर्खाहरुले राजा र ब्रिटिश साम्राज्यलाई सेवा गरिरहेको ऐतिहासिक पृष्ठभूमिमा यो ड्युटी भन्दा बढी सम्मान आफूलाई अरु नभएको खाम्चामगरले बताए । 

‘गाउंमा हुर्किएको सामान्य मानिस रोयल हाउस होल्डको सदस्य हुने भएपछि यो अवसर किन छोड्ने भन्ने लाग्यो’, उनले सुनाए, ‘मेरो नियुक्ति पर्सनल इन्ट्रेष्ट भन्दा पनि नेपाल र गोर्खाको प्रतिष्ठासंग गांसिएको छ जस्तो लाग्छ । ‘

वाल्यकालदेखि नै अरुले गरेभन्दा केही भिन्न काम गर्न अगाडि सर्थे उनी । ‘मैले ब्रिटिश आर्मीको एक्टिभ सर्भिसमा हुंदा पनि सिनियर कमाण्डरको सल्लाह बमोजिम फरक काम गरेको थिएं । एकजना जनरल साबले प्यालेसमा यस्तो काम छ अप्लाइ गर्नु भनेपछि मैले गरें’, उनले भने, ‘बुबा आमाको मार्गदर्शन र कडा परिश्रम गर्नुपर्छ भनेर उहांहरुले सिकाएको संस्कार फलो गर्दै आएको छु ।’ 

खाम्चामगरले यसअघि रोयल हाउस होल्डमा १८ महिना काम गर्ने अवसर पाएका थिए ।

ब्रिटिश आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गरेका खाम्चामगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफिटनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकास लिएका थिए । ब्रिटिश आर्मीको सिपाहीबाट सेवा शुरु गरेपछि लेफ्टीनेन्ट कर्णेल नै उच्च तह हो ।

१९ वर्षको कलिलो उमेर सन् १९८७ जनवरीमा भर्ती भएका उनी स्याङ्जा शिरकोट करादीमा जन्मिएका हुन् । उनले विश्वभरका सैनिक अधिकृतले प्रशिक्षण लिने ठाउं ब्रिटिश आर्मी हेडक्वार्टर रोयल मिलिट्री एकाडेमी स्याण्डहर्सटमा समेत लामो समय काम गरे । बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सट विश्वमै कहलिएको छ ।

बुबा चन्द्रबीर खाम्चा र आमा नर्मताका सुपुत्र टोलले सन् १९८६ मा लिलाकुमारीसंग बिहे गरे । उनका दुई छोरी र एक छोरा छन् । छोरा अमेरिकन कम्पनीमा म्यानेजर छन् भने मगरका ५ भाइ र ५ बहिनी छन् । एक जना भाईबाहेक अरु सबै लाहुरे (सिंगापुर, भारतीयसमेत) छन् । 

खाम्चामगरले सेवाका दौरान खाडी युद्धमा साउदी अरबदेखि कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देशमा खटिए । सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा समेत काम गरेका थिए । 

हेरौं बेलायती राजाको सुरक्षा दलमा नियुक्त ले. कर्णेल (रि) टोलबहादुर खाम्चासंग नेपाली लिंकको भिडियो संवाद :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू