अमेरिकामा अवैध १३ सय नेपाली देशनिकालाको सूचीमा
वासिङटन- अमेरिकामा अवैध बस्दै आएका १ हजार ३ सय बढी नेपाली देशनिकाला हुने भएका छन् ।
हालै दोस्रो कार्यकालका लागि शपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कठोर नीति कार्यान्वयनमा आएसंगै पहिलो चरणमा ती नेपाली देशनिकाला हुने भएका हुन् । अमेरिकामा ३ हजार बढी नेपाली अवैध रुपमा बसोबास गरिरहेको ठानिएको छ।
अमेरिकी अध्यागमन कार्यालयका अनुसार विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासी निष्काशनको सूचीमा परेका छन् । जुन सूचीमा अमेरिकामा अवैध रुपमा बसिरहेका १ हजार ३ सय ६५ जना नेपाली पनि छन् ।
अमेरिकाबाट फिर्ता हुने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू छन् । पछिल्लो ४ वर्षमा अमेरिकाबाट १ सय ३ जना नेपाली फिर्ता भइसकेका छन् ।
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण लिएलगत्तै अवैध रुपमा अमेरिका बसिरहेका आप्रवासीलाई फिर्ता पठाउने सम्बन्धी कार्यकारी आदेश दिएका थिए ।
अमेरिकामा सबैभन्दा धेरै गैरकानुनी आप्रवासी मेक्सिकोका छन् । ‘सेन्टर फर माइग्रेसन स्टडिज’का अनुसार अमेरिकामा अवैध बस्दै आएका करिब २ लाख ५२ हजार मेक्सिकन निष्कासनको सूचीमा छन् ।
अमेरिकामा अवैध आप्रवासीको संख्याका आधारमा भारत पाँचौं स्थानमा छ भने नेपाल २६ औं स्थानमा पर्दछ ।
अमेरिकामा बस्दै आएका अवैध आप्रवासीलाई फिर्ता पठाउन राष्ट्रपति ट्रम्प नेतृत्वको अमेरिकी सरकारले कडा नीति अपनाएको छ ।
छिमेकी मुलुक भारत र चीनका विदेश मन्त्रालयले अवैधानिक रुपमा अमेरिकामा बस्दै आएको पहिचान भएका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयार रहेको बताएका छन् ।