बिहीबार, माघ १७, २०८१
05:14 | १०:५९

इजरायलकै जस्तो ‘आइरन डोम’ प्रणाली सुरु गर्न ट्रम्पको कार्यकारी आदेश

रासस/एएफपी जनवरी २८, २०२५

मायामी (अमेरिका), माघ १५ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेस गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष–आधारित अवरोधकहरूको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए ।

तथापि उनले यो प्रणाली छोटो दूरीका खतराहरूका लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरू विरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ ।

“विगत ४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारहरूबाट खतरा अझ तीव्र र जटिल भएको छ”, सोमबारको कार्यकारी आदेशले अज्ञात विरोधीहरूको मिसाइल प्रक्षेपण क्षमताको विकासलाई उद्धृत गर्दै भन्यो ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए ।

इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेटहरू खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ ।

“उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्”, ट्रम्पले मायामी बैठकमा भने, “त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ।”

उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशहरूमा पनि हस्ताक्षर गरे । यसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू