सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेश
काठमाडौं- सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गरेको छ।
विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो । सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउनुपर्नेमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिँदै आएका छन्।
मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब संघीय संसदमा पेश भई सदनमा छलफलको प्रक्रियामा जाने बताए।
त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि संघीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमाणीकरण भई कार्यान्वयनका क्रममा छन्।