बुधबार, माघ १६, २०८१
03:04 | ०८:४९

तमु समाज यूकेद्वारा गण्डकी प्रदेश सांसद गुरुङ सम्मानित

नेपाली लिङ्क जनवरी २७, २०२५

लन्डन— तमु समाज यूकेले बेलायत भ्रमणमा आएकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङलाई स्वागत तथा सम्मान गरेको छ। 

लन्डन वेम्बलीस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा २५ जनवरी शनिवार एक कार्यक्रमबीच गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो ।

प्रमुख अतिथि सांसद गुरुङलाई अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, पुष्पगुच्छा र दोसल्ला ओढाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरि स्वागत तथा सम्मान गरे।

त्यस पस्चात पूर्व अध्यक्षहरु अर्जुन कुमार गुरुङ, शिव चन्द्र गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र उपाध्यक्ष भिम बहादुर गुरुङले खादा तथा पुष्प गुच्छा, दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

तमु समाज यूके अध्यक्ष बिन्दु कुमारी गुरुङ ‍घलेको सभापतित्वमा महासचिव सुव घलेले संचालन गरेको स्वागत तथा सम्मान कार्यक्रममा महासचिव घलेले प्रमुख अतिथि गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। 


कार्यक्रममा प्रमुख अतिथि गुरुङले अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र आमा समूहकी अध्यक्ष विमला गुरुङलाई नेपालबाट ल्याएको मायाको चिनो प्रदान गरिन् भने वर्तमान तथा पूर्व अध्यक्षहरु, आमा समूहका वर्तमान तथा पूर्व अध्यक्षहरु, महासचिव एवं कोषाध्यक्षलाई नेपालबाट ल्याएको उपहार स्वरुप पस्मिना तथा पछ्यौरी ओढाई सम्मान गरेकी थिइन्। 

कार्यक्रममा उपस्थित तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षहरु अर्जुन कुमार गुरुङ, शिव चन्द्र गुरुङ, शिव कुमार गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, सल्लाहकारहरु लेख गुरुङ, जुमबहादुर गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार बिजु गरुङ, निवर्तमान महासचिव तथा सल्लाहकार धरम बल गुरुङ, पूर्व कोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ, सल्लाहकार गोपीराम गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, कार्यसमितिका विभिन्न पदाधिकारी, आमा समूह, आजीवन सदस्यहरु र उपस्थित सबैले प्रदेश सांसद गुरुङलाई खादा र पुष्प गुच्छाले स्वागत तथा सम्मान गरे ।

बेलायतको राजधानी लन्डनमा तमु समाज यूकेले स्वागत तथा सम्मान गरेकामा प्रमुख अतिथि गुरुङले सबैप्रति आभार ब्यक्त गरिन्।

समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले स्थापना गरेको संस्थाले लन्डन जस्तो ठाउँमा आफ्नै स्वामित्वमा सामुदायिक भवन गरिद गर्न सफल भएकोमा गुरुङ लगायत सम्पूर्ण सहयोगीहरुलाई हार्दिक बधाईसहित सम्मान ब्यक्त पनि गरिन्। 


मन्तब्य राख्‍ने क्रममा प्रमुख अतिथि गुरुङले परोपकार क्षेत्रमा समाजले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएकी थिइन्।

उनले प्रदेश सभा सदस्यको शपथ खांदा आफूले गुरुङ पोशाक पहिरिएर गुरुङ भाषामा शपथ लिएको स्मरण गर्दै त्यसको मुख्य उद्देश्य गण्डकी प्रदेशमा सरकारी कार्यालयको कामकाजी भाषा गुरुङ र मगर पनि हुनुपर्छ भन्ने रहेकोमा आफ्नो त्यो पहिलो मान्यता अहिले पुरा भएको जनाइन्। उनले गैर आवासीय नेपाली नागरिकताको व्यवस्थाबारे पनि आफूले सक्दो पहल गर्ने उल्लेख गरिन् । 

त्यसैगरि नारी सशक्तिकरण र महिला नेतृत्वबारे प्रकाश पार्दै गुरुङले तमु समाज यूकेले महिला नेतृ चयन गरि महिलालाई सम्मान दिएकोमा धन्यवाद ब्यक्त गर्दै अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई बधाई तथा शुभकामना समेत दिइन्। 

मन्तब्यकै क्रममा सांसद गुरुङले यूके भ्रमणका क्रममा आफूले धेरै संघसंस्थाका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुसँग भेटवार्ता तथा भलाकुसारी गर्ने अवसर मिलेको बताउंदै यस अवधिमा धेरै विषयमा सिक्ने र जान्ने अवसर मिलेको बताइन्।

बेलायतमा रहेपनि हरेक संघसंस्थाले आफ्नो नेपाली तथा तमु भाषा, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा निरन्तर लागिरहन पनि गुरुङले सबैलाई आग्रह गरेकी थिइन् । 

औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद दिएकी थिइन् । –शिव कुमार  गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू