धरौटी बदरको माग गर्दै लामिछानेले दिएको निवेदन उच्च अदालतमा दर्ता
पोखरा— पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा तोकिएको धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदन सोमबार दर्ता भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो भने अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको थियो ।
जिल्ला अदालत कास्कीले दिएको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले दिएको निवेदन सोमबार दर्ता भएको उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।
मङ्गलबार यो निवेदन सिङ्गल बेन्चमा जाने र जिल्लाबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्चको संयुक्त इजलासले निवेदन बमोजिम हुने वा नहुने निर्णय लिने पनि पनेरुले जानकारी दिए।
सूर्यदर्शनका प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ ।