प्राध्यापक सुवेदीको सम्मानमा बेलायतमा प्राज्ञिक ग्रन्थ प्रकाशन र सम्मेलन
लन्डन । प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको सम्मानमा बेलायतमा एक प्राज्ञिक ग्रन्थ प्रकाशन र सम्मेलन हुने भएको छ । बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा लब्ध–प्रतिष्ठित प्राध्यापकहरुले आफ्नो विद्यामा जीवनभर दिएको उत्कृष्ट योगदानको कदर गर्दै त्यस्ता प्राध्यापकको सम्मानमा एक ग्रन्थ प्रकाशन र सम्मेलन गर्ने परम्परा छ ।
त्यसलाई परम्परागत अंग्रेजी भाषामा फेस्टेश्रीफ्ट (Festschrift) भन्ने गरिएको छ । यो एक किसिमको प्राज्ञिक चौरासी पूजा जस्तै हो जहाँ उक्त प्राध्यापकको सुपरिवेक्षणमा विद्यावारिधि गरेका संसारभर छरिएका प्राज्ञिक सन्ततिहरु र सहकर्मी प्राध्यापकहरु जम्मा भइ उक्त ग्रन्थ समर्पण गर्ने र प्रवचन राख्ने गरिन्छ।
यसै परम्परा अनुसार यही फेब्रुवरी २७ तारिख प्रा सुवेदीको सम्मानमा म्यानचेस्टर विश्वविद्यालयमा बेलायतका दुई अंग्रेज महिला प्राध्यापक डा लुइसा आश्ली र डा निकी बटलरले प्रकाशन गरेको ‘अन्तरराष्ट्रिय रूपमा मानव अधिकार कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान’ पुस्तक लोकार्पण गर्ने र प्रा सुवेदीले संसारका विभिन्न सभ्यतामा मानव अधिकारलाई कसरी हेरिन्छ भन्ने विषयमा प्रवचन दिने कार्यक्रम छ।
उक्त दुई अंग्रेज महिला प्राध्यापकहरुले प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा दश–पन्ध्र वर्ष अघि विद्यावारिधि गरेका थिए र उनीहरुले अहिले आफ्ना गुरुको सम्मानमा उक्त ग्रन्थ लेखन र सम्पादन गरेका हुन् ।
बेलायतको प्रतिष्ठित प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशन गरेको हो । उनीहरु मध्ये डा निकी बटलर म्यानचेस्टर विश्वविद्यालयमा प्राध्यापक भएकीले उनले उक्त कर्यक्रम आफ्नै विश्वविद्यालयमा आयोजना गरेकी हुन्। उक्त कार्यक्रम भौतिक रूपमा उपस्थित भएर वा जुममार्फत संसारभरबाट हेर्न पाइने व्यवस्था गरिएको छ।
प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा २३ देशका ४० जना विद्यार्थीले विद्यावारिधि गरेका छन् । उनी आफैंले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका हुन् । उनले १२ वटा ग्रन्थ र ६० भन्दा बढी प्राज्ञिक लेख संसारभरिका उत्कृष्ट जर्नलमा प्रकाशन गरेका छन् ।
सुवेदीले लिड्स विश्वविद्यालयमा सन् २००४ देखि र अक्सफोर्ड विश्वविद्यालयमा सन् २०१६ देखि प्राध्यापन गर्दै आएका छन्। हाल ६० को दशकमा हिंडिरहेका सुवेदीले अझै अर्को २० वर्ष प्राज्ञिक क्षेत्रमा व्यस्त भइरहने अठोट गरेका छन् ।
उक्त सम्मेलन म्यानचेस्टर विश्वविद्यालयको निम्न सभा कक्षमा हुनेछ ।
स्थान: University of Manchester, School of Law, University Place (Room 2.22), Oxford Road, Manchester, M13 9PL
समय: Thursday 27 Feb 2025, 5pm – 7pm
जुम लिंक: https://zoom.us/j/6210329025?omn=95846769556
सम्पर्क: Please RSVP to Dr Nicolette Butler: [email protected]
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५