बेलायती शाही दम्पत्तिको नेपाल भ्रमण आउंदो महिना
लन्डन । बेलायती शाही परिवारका दुई सदस्यले आउंदो महिना नेपाल भ्रमण गर्ने तयारी गरेका छन् । प्रिन्स एडवर्ड र उनकी श्रीमति डचेस सोफी ५ दिने राजकीय भ्रमणका लागि फेब्रुअरी ४ मा काठमाडौं पुग्ने भएका हुन् ।
शाही दम्पत्तिको सन् २०२५ को पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुन लागेको हो ।
शाही परिवारको आधिकारिक वेवसाइट अनुसार द ड्यूक एण्ड डचेस अफ एडिनवराको दक्षिण एसियाली राष्ट्रको राजकीय भ्रमण अन्तर्गत नेपाल पहिलो देश हुनेछ ।
महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपका कान्छो सन्तान प्रिन्स एडवर्ड दम्पत्तिले फेब्रुअरी २ मा भारत भ्रमण गरेपछि फागुन ४ गते पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं पुग्नेछन् ।
परराष्ट्र मन्त्रालयले छिट्टै काठमाडौंस्थित बेलायती दूतावाससँग परामर्श गरेर विस्तृत कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । गृह मन्त्रालयले उनीहरूको भ्रमण सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई पत्राचार गरिसकेको छ ।
शाही दम्पतीको आसन्न भ्रमणको विवरण अझै गोप्य रहे पनि ड्यूक र डचेसले फेब्रुअरी ७ मा पोखराको ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरुको प्रमाणीकरण परेडमा भाग लिने जनाइएको छ । सो क्रममा शाही दम्पत्तिले नयाँ भर्ती भएका गोर्खा र तिनका परिवारका सदस्यहरुलाई भेट्नेछन् ।
पछिल्लो समय गोर्खाहरु बेलायतमा मात्रै नभई साइप्रस, म्यासेडोनिया, रोमानिया, जर्मनी, जापान, पपुवा न्यूगिनी, अष्ट्रेलिया र न्यूजिल्यान्डमा पनि तैनाथ भएका छन् । गोर्खाहरूले २०९ वर्षभन्दा बढी समयदेखि ब्रिटिश सेनामा सेवा गरेका छन् ।
पाँचदिने भ्रमणका क्रममा राजपरिवारका सदस्यहरुले नेपाल सरकारका उच्च अधिकारी तथा गोर्खा सैनिकका परिवारसँग भेटघाट गर्नुका साथै बेलायतको अनुदानमा नेपालमा रहेका विकास आयोजनाहरुको पनि निरिक्षण गर्ने कार्यक्रम छ ।
एडवर्ड र सोफीलाई सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइटका लागि लैजाने तयारी भइरहेको छ । उनीहरु अन्नपूर्ण आधार शिविर अवलोकनका लागि घान्द्रुक क्षेत्रमा पनि जाने बताइएको छ ।
यसअघि राजकुमार ह्यारी सन् २०१६ मार्चमा ११ दिने नेपाल भ्रमणमा क्रममा काठमाडौं, बर्दिया र पोखरा घुमेका थिए । राजकुमार फिलिपले पनि सन् २००० मा नेपाल भ्रमण गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५