आइतबार, फागुन ११, २०८१
04:58 | १०:४३

बेलायतमा ड्राइभिङ लाइसेन्स डिजिटल गर्ने तयारी

इंग्ल्याण्डमा ३ करोड ४० लाख बढी ड्राइभिङ लाइसेन्स

नेपाली लिङ्क जनवरी २३, २०२५

लन्डन । बेलायतमा हाल प्रयोग हुँदै आएको ‘फिजिकल’ ड्राइभिङ लाइसेन्सलाई ‘डिजिटल’ लाइसेन्सको रुपमा उपलब्ध गराउने तयारी भइरहेको छ।

यसै वर्षको अन्ततिर प्रयोगमा ल्याइने  भनिएको उक्त डिजिटल ड्राइभिङ लाइसेन्सले मानिसहरुको दैनिक क्रियाकलापमा सहज हुने सरकारको बुझाइ छ। यद्धपि फिजिकल ड्राइभिङ लाइसेन्स पनि प्रयोगमा नै रहने बताइएको छ।

स्मार्टफोन एप्समार्फत उपलब्ध हुने उक्त लाइसेन्स अल्कोहल किन्दा, मतदान गर्दा र डोमेस्टिक फ्लाइटमा समेत परिचयपत्रको रुपमा उपयोग गर्न सकिनेछ।

बार, पसल जस्ता स्थानहरुमा डिजिटल लाइसेन्स प्रयोग गर्नुपर्दा आफ्नो ठेगाना लगायतका गोप्य जानकारी भने प्रयोगकर्ताले लुकाउन  सक्नेछन्।

सन् २०२३ को सरकारी तथ्यांकअनुसार इंग्ल्याण्डमा ३ करोड ४० लाख भन्दा बढी फिजिकल ड्राइभिङ लाइसेन्स रहेको बताइएको छ।

नयाँ डिजिटल ड्राइभिङ लाइसेन्स सरकारी एप्लोकेशन ‘गोभ डट यूके’ मार्फत वालेटको रुपमा उपलब्ध हुनेछ। उक्त लाइसेन्स बैंकिंङ एप्लिकेशन जस्तै सुरक्षित हुने र सोहि अनुसारका सुरक्षा प्रणाली समावेश हुने छन् भने सम्बन्धित व्यक्तिलाई मात्र प्रयोग गर्न सक्ने अधिकार रहनेछ।

भौतिक लाइसेन्सको तुलनामा बढी सुरक्षित हुने डिजिटल लाइसेन्स अनिवार्य रुपमा भने लागू नगरिने अधिकारीहरुले बताएका छन्।

युरोपियन युनियनले पनि सन् २०२६ सम्ममा डिजिटल ड्राइभिङ लाइसेन्स प्रयोगमा ल्याउने तयारी गरेको छ। अष्ट्रेलिया, डेनमार्क, आइसल्याण्ड र नर्वे साथै केही अमेरिकी राज्यमा पहिलादेखि नै डिजिटल ड्राइभिङ लाइसेन्स प्रयोग भइसकेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू