आइतबार, फागुन ११, २०८१
04:58 | १०:४३

यूके नेपाल बिजनेश फोरममा बेलायतका नेपाली व्यवसायी पनि

नेपाली लिङ्क जनवरी २२, २०२५


लन्डन– आउंदो १८ फेब्रुअरीका दिन काठमाडौंस्थित म्यारियट होटलमा हुन लागेको ‘यूके नेपाल बिजनेश फोरम’ मा ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) पनि सहभागी हुने भएको छ ।

बीएनसीसी उपाध्यक्ष इन्द्र गिरीले काठमाडौंस्थित बेलायती राजदूतावासको निमन्त्रणामा आफ्ना सिइओ स्टिभ बक्लीसहित केही प्रतिनिधि कार्यक्रममा सहभागी हुने बताए ।

बक्लीको अनुभव नेपालका लागि उपयोगी हुने विश्वास बीएनसीसीको छ । भर्खर नियुक्त नयाँ मानार्थ सीइओ बक्ली सन् १९७० को दशकको सुरुमा ब्रिटिश कूटनीतिक सेवामा प्रवेश गरेका थिए । उनीसंग एसिया प्रशान्त क्षेत्रको राम्रो ज्ञान छ ।

उनले यसअघि थाइल्यान्ड र मलेसियास्थित बेलायती उच्चायोगमा व्यापार तथा लगानी निर्देशकको रुपमा काम गरेका थिए ।

यूके नेपाल बिजनेस फोरमले बेलायत र नेपालबीचको आर्थिक साझेदारी सुदृढ गर्ने, द्विपक्षीय व्यापार र लगानीलाई बढावा दिने एवं बेलायतलाई नेपालको प्रमुख व्यापार तथा लगानी साझेदारका रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

बेलायत र नेपालका उद्यमीहरुको संस्था बीएनसीसीमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे संरक्षक छन् । नेपालमा द्विपक्षीय व्यापार, लगानी प्रवर्धन र नेपाल–बेलायतका उद्यमीहरूको पारस्परिक हितमा काम गर्नु बीएनसीसीको मुख्य उद्देश्य हो ।

बीएनसीसीले संगठनहरूलाई आफ्ना लक्ष्य पूरा गर्न, व्यापार अवसरहरूबारे सचेत हुन र बेलायत नेपालका व्यापारिक समुदायसँग उनीहरूको चासो प्रवर्धनका लागि मद्दत गर्ने गरेको अध्यक्ष डा. कपिल रिजालले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू