बुधबार, माघ ९, २०८१
23:55 | ०५:४०

एनआरएनका माग क्रमशः पुरा हुँदै जाने प्रधानमन्त्री ओलीको अठोट

नेपाली लिङ्क जनवरी २१, २०२५


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार साँझ गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसंग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताएका हुन् ।

भेटमा अध्यक्ष केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका थिए । 

संघका अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गरे ।

अध्यक्ष डा केसीले लगानीको सवालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताएका थिए । 

बारम्बार ध्यानाकर्षण गराउनुका साथै नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरितावहाकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष डा केसीले भने, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्रीज्यू? के हामी नेपाली होइनौँ? संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।ʼ 

जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानून निर्माणको चरणमा रहेकाले कार्यान्वयनमा ढिलाई भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अब संसद बैठक आह्वान हुँदा तपाईंहरुको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभएपनि क्रमशः तपाईहरुले भोग्नुपरेको कठिनाई सम्बोधन हुन्छ ।ʼ

सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीहरुलाई १० वर्षे भिषा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष केसीले राजनीतिक नेतृत्वसंगको भेट तीव्र पारेका छन् ।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर संघका मागबारे ध्यानार्कषण गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू