अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले लिए शपथ
अमेरिका- अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले शपथ लिएका छन्। यसअघि ४५ औं राष्ट्रपतिका रुपमा पनि देशको नेतृत्व गरिसकेका उनले चार वर्षपछि ह्वाइट हाउसमा पुनरागमन गरेका हुन्।
सोमबार बिहान राजधानीमा अत्यधिक चिसो तापक्रम पूर्वानुमान गरिएकोले हलभित्र आयोजना गरिएको पदस्थापन समारोहमा ट्रम्पले अब्राहम लिंकनले प्रयोग गरेको बाइबल प्रयोग गरेर शपथग्रहण गरेका हुन्। लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा यही बाइबल प्रयोग गरेका थिए।
ट्रम्पले पदको शपथ लिँदा आफ्नो व्यक्तिगत बाइबल पनि प्रयोग गरेका छन्। दुबै बाइबल ट्रम्पले २०१७ मा आफ्नो पदस्थापन समारोहमा प्रयोग गरेका थिए। क्यापिटल रोटुन्डामा प्रधान न्यायाधीश जोन रोबट्र्सबाट ट्रम्पले शपथ लिएका छन्।
पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो दुवै पदस्थापन समारोहमा लिंकन बाइबल प्रयोग गरेका थिए। नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्सले आफ्नी हजुरआमाका पालाको पारिवारिक बाइबल प्रयोग गरेर पदको शपथ लिए ।
जो बाइडेनसँगै पूर्व राष्ट्रपतिहरु बराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन सबै ट्रम्पको पदस्थापन समारोहमा उपस्थित भएका थिए । मिशेल ओबामा भने समारोहमा उपस्थित भइनन् ।
योसँगै अमेरिकामा ट्रम्पको दोश्रो कार्यकालको औपचारिक सुरुवात भएको छ। ट्रम्पले लगभग निश्चित रूपमा कडा सिमाना नियन्त्रण लागू गर्नेछन् र थप कागजातविहीन आप्रवासीहरूलाई देशबाट निष्कासन गर्न सुरु गर्नेछन्।
ट्रम्प प्रशासनले मंगलबारदेखि नै शिकागोमा आप्रवासन धरपकड सुरु गर्न सक्ने अनुमान गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५