आइतबार, माघ ६, २०८१
13:30 | १९:१५

बेलायतमा इमिग्रेसन कडाइपछि आधा घटे भिसा आवेदन

नेपाली लिङ्क जनवरी १९, २०२५

लन्डन- बेलायत सरकारले अध्यागमन (इमिग्रेसन) नियन्त्रणको लक्ष्यसहित लागू गरेको कडाइका कारण यहाँको भिसाका लागि आउने आवेदनहरु उल्लेख्य संख्यामा घटेका छन्।

होम अफिसले हालै जारी गरेको एक तथ्यांकले गत वर्ष नयाँ इमिग्रेसन नीति कार्यान्वयनमा आएपछि भिसा आवेदनको संख्या झण्डै ४ लाखले न्यून भएको देखाएको हो ।

होम अफिसका अनुसार गत वर्ष अप्रिलदेखि डिसेम्बरसम्म ९ महिना अवधिमा बेलायतको भिसाका लागि कुल ५ लाख ४७ हजार आवेदन प्राप्त भएका छन्। जब कि अघिल्लो वर्ष सन् २०२३  को सोहि ९ महिने अवधिमा आएका भिसा आवेदनहरुको संख्या भने ९ लाख ४२ हजार ५ सय थियो ।

भिसा आवेदनको संख्यामा आएको झण्डै ४ लाख (४२ प्रतिशत) को गिरावटपछाडिको मुख्य कारण विद्यार्थी र केयर वर्कर भिसा आवेदनहरुमा आएको कमी हो।

बेलायत सरकारले इमिग्रेसन नीतिमा पछिल्लो पटक गरेको परिवर्तनमा मुख्य निशाना अन्तरराष्ट्रिय विद्यार्थी र केयर वर्करहरुलाई बनाएपछि ती रुटमा भिसा आवेदन गर्नेहरुको संख्या ह्वात्तै घटेको हो । गत वर्षको जनवरीदेखि अप्रिलसम्ममा केयर वर्कर तथा विद्यार्थी भिसामा आउनेहरुलाई डिपेन्डेन्ट ल्याउन नदिने, वर्क पर्मिट भिसा लिनेहरुको वार्षिक तलब थ्रेसहोल्ड बढाएर ३८ हजार ७ सय पुर्याउनेजस्ता नयाँ नियमहरु लागू गरिएको थियो ।

सन् २०२४ अप्रिलदेखि डिसेम्बरसम्मको अवधिमा केयर वर्कर भिसा आवेदन संख्या ७९ प्रतिशतले घटेको पाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ९९ हजार ८ सय केयर वर्कर भिसा आवेदन आएकोमा गत वर्षको उक्त अवधिमा ६३ हजार ८ सय आवेदन मात्र आएका छन् ।

विद्यार्थी भिसा रुटमा आएका आवेदनहरु पनि २९ प्रतिशतले घटेका छन् । अघिल्लो वर्ष अप्रिलदेखि डिसेम्बरसम्ममा ५ लाख ४६ हजार १ सय आवेदन आएकोमा गत वर्षको सोही अवधिमा मात्र ३ लाख ८९ हजार ८ सय आवेदन प्राप्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू