आइतबार, माघ ६, २०८१
15:57 | २१:४२

शेर्पा समुदायले लन्डनमा मनाउंदै ग्याल्पो ल्होसार

नेपाली लिङ्क जनवरी १९, २०२५

लन्डन । शेर्पा संघ बेलायतले २१५२ औं राष्ट्रिय ग्याल्पो ल्होसार यसपटक लन्डनमा मनाउने तयारी गरेको छ ।

संघले आउंदो मार्च ८ तारिख लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार विशेष कार्यक्रमका साथ मनाउन लागेको हो ।

शनिबार उलवीचमा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव नोर्बु शेर्पाले हिमाली भूभागमा बस्ने शेर्पा जातीको धर्म, संस्कृति, परम्परा र चाडपर्व बेलायतमा समेत संरक्षण गर्न लाप्सो पूजासहित ल्होसार मनाउने तयारी भएको जनाए ।

बीसीसी यूके गुम्बामा ग्रह शान्तिका लागि ल्हप्सो पूजा गरिनेछ भने प्लमस्टिड एसियन कम्युनिटी हलमा ल्होसार मनाउन लागिएको हो ।

महासचिव शेर्पाले शेर्पा समुदायमा आफ्नो मात्र आधिकारिक संगठन भएको र सबै एकै थलोमा एकत्रित भएर ल्होसार मनाउन लागेको जनाए । ल्होसारमा लन्डन दूतावाससहित विभिन्न संघसंस्थाबाट अतिथीहरु र शेर्पा समुदाय गरि करिब ५ सय जना सहभागी हुने अपेक्षा गरिएको महासचिवले जानकारी दिए ।

त्यसदिन दिउसो १ देखि अपरान्ह ५ बजेसम्म औपचारिक कार्यक्रम हुने र त्यसपछि राती ११ बजेसम्म मनोरन्जनात्मक सांस्कृति कार्यक्रम गरिने जनाउंदै महासचिव शेर्पाले कार्यक्रममा सबैलाई चुल्हे निम्तो समेत दिए ।

संघका अध्यक्ष रिन्जी शेर्पा लामाले २८ फेब्रुअरीमा ल्होसार परेपनि १५ दिनसम्म मानिने भएकाले ८ मार्चका दिन कार्यक्रम तय गरिएको बताए । त्यस अगाडि २ मार्चमा अल्डरसटस्थित बीसीसी यूके गुम्बामा ग्रह दशा शान्ति पूजा ल्हप्सो गरिने पनि उनले जनाए ।

कार्यक्रम संयोजक छोङ नोर्बु शेर्पाले कार्यक्रम प्रवेशका लागि यसपटक इ-टिकेटिङ सिस्टम शुरु गरिएको जनाउंदै टिकट खरिद शेर्पा संघ बेलायतको वेवसाइटबाट गर्न सकिने बताए । टिकट फिजिकल्ली पनि लिन सकिने तर अनलाइन भन्दा यसमा ५ पाउण्ड अतिरिक्त लाग्ने उनले जनाए । इ-टिकट ६ मार्चसम्म मात्र उपलब्ध हुनेछ ।
जेष्ठ नागरिक, विद्यार्थी र बच्चाका लागि प्रवेश शुल्क २० पाउण्ड र वयस्कका लागि ३० पाउण्ड राखिएको संयोजक शेर्पाले बताए ।

कार्यक्रममा धर्म गुरुहरुबाट प्रवचन, डिजे डान्स, शेर्पा संस्कृति झल्कने प्रस्तुति, बालबालिकाका लागि बाउन्सी क्यासल जस्ता आकर्षण रहने उनले जनाए ।
संयोजक शेर्पाले कार्यक्रममा प्रायोजन गर्न इच्छुक व्यक्ति वा व्यापारिक प्रतिष्ठानलाई अपिल समेत गरेका छन् । प्लेटिनम स्पोन्सरका लागि एकहजार माथि, गोल्ड स्पोन्सर ७५० देखि १००० पाउण्ड, सिल्भर स्पोन्सर ५५० देखि ७०० पाउण्ड र ब्रोन्ज स्पोन्सर गर्न चाहनेले ३५० देखि ५०० पाउण्डसम्म तिर्नु पर्नेछ ।

यसवापत प्रायोजकहरुलाई सम्मान, ताम्रपत्र, संघको अफिसियल वेवसाइटमार्फत व्यवसायको प्रचार प्रसार, व्यवसायिक ब्यानर, मिडिया कभरेज र दुईवटा निशुल्क टिकट व्यवस्था गरिने संयोजक छोङले बताए ।

पत्रकार सम्मेलनमा धार्मिक सल्लाहकार लोपेन फुर्बा तेन्जी शेर्पाले ल्होसार पर्वको महत्व, इतिहास, पर्व मनाउनुको कारण, ल्हप्सो पूजा आदिको ऐतिहासिक पक्ष उल्लेख गरे । उनले ल्होसारको ‘ल्हो’ भनेको वर्ष र सार भनेको ‘नयां’ भएको बताउंदै १२ औं शताब्दीका तिब्बती राजाले ल्होसार शुरु गरेको इतिहास स्मरण गरेका थिए ।

सांस्कृतिक सल्लाहकार आङ ल्योक्पा शेर्पाले अब शेर्पा समुदाय पनि समाजमा निस्केर आफ्नो पहिचान देखाउन आवश्यक रहेको बताइन् ।

संघको लन्डन क्षेत्रीय संयोजक निम लाबु शेर्पाले हिमाली शेर्पा जातीले पूर्खौंदेखि कला संस्कृति, पर्व मनाउंदै आएका बताइन् । बेलायतमा समेत आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा बिर्सनु हुंदैन भनेर यसलाई निरन्तरता दिइएको उनले बताइन् । उनले कार्यक्रममा सबै शेर्पा समुदायलाई उपस्थितिका लागि आग्रह समेत गरिन् ।

पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष नुरी शेर्पा, सचिव जाङमु शेर्पा, कोषाध्यक्ष छेते शेर्पा, सह कोषाध्यक्ष माया लामा, सल्लाहकारहरु आङदाबा च्याबा, दावा सोनम लामा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

सन् २००३ मा स्थापित संघले स्थापनाकालदेखि नै वर्षेनी ल्होसार मनाउंदै आएको छ । बेलायतमा लगभग २२ देखि २५ सय शेर्पा जाती रहेको अनुमान छ । संघले बेलायतमा रहेका शेर्पाहरुको तथ्यांक लिने कार्य शुरु भइसकेको पनि जनाएको छ ।

अनलाइन टिकट लिन यहां क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू