पत्रकार केसीको पेन्टिङ बेलायती मन्त्रीलाई उपहार
लन्डन–लन्डनस्थित पत्रकार तथा लेखक प्रकाश केसीले बनाएको एक थान पेन्टिङ बेलायती सहायक विदेश मन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
बेलायती संसद हाउस अफ कमन्सको पोर्टकुलिस हाउसमा सोमबार बेलुका आयोजित ‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्याक्रममा केसीको पेन्टिङ दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथराइन वेष्टलाई प्रदान गरिएको हो ।
बेलायत भ्रमणमा आएका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले नेपाल र नेपालीको तर्फबाट सो पेन्टिङ विदेशमन्त्री वेष्टलाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा केसी सृजित बेलायती व्यापार तथा व्यवसाय सहायक मन्त्री गरेथ टमसको मुहारको स्केच पनि हस्तान्तरण गरियो ।
‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्याक्रम संयोजन गरेका अभियन्ता रमेश सारांगकोटीको अनुरोधमा विश्वको सर्वोच्च शिखर सगरमाथा झल्काउने र अहिलेको युद्धग्रस्त संसारको स्थितिलाई मध्यनजर राखेर शान्तिका प्रतिक बुद्धको मूर्तिसहितको पेन्टिङ सृजना गरेको केसीले बताए ।
व्यवसायिक चित्रकार समेत रहेका केसीले क्यानभासमा तयार गरेको उक्त नेपाली पेन्टिङमा सगरमाथा, बुद्धको मूर्ति, शान्तिको प्रतिक स्वरूप एक जोडी परेवा र बुद्धिस्थ परम्परागत माने खोर्लो (प्रेयर व्हिल) र लुङदर देखाइएको छ ।
पेन्टिङ सृजनाबारे केसी भन्छन्, ‘विश्वको अग्लो चुचुरो सगरमाथासंगै वर्तमान युद्धग्रस्त संसारको अवस्था मध्यनजर गर्दै शान्तिका प्रतिक एक जोडी परेवा र बुद्धको मूर्ति पेन्टिङमा अटाएको हुं ।’ सर्वोच्च शिखर सगरमाथा झल्काउनु पर्दा नेपाली शेर्पा पोर्टरको चर्चा, बुद्धिस्ट धर्मावलम्बी रितिथिति अन्तर्गत घुमाउने माने खोर्लो (प्रेयर व्हिल) तथा डोरीमा टांगिने लुङदरको महत्व उत्तिकै हुने बताउंछन् केसी ।
घट्ना र विचार साप्ताहिकसँग आवद्ध पत्रकार केसीले पोखरामा स्कुल पढ्दा झन्डै तीन दशकदेखि नै पेन्टिङ शुरु गरेका थिए । सन् १९९८ मा आएपछि उनले पेन्टिङ भन्दा लेखनमा बढी प्राथमिकता दिए । हङकङ बसाइका क्रममा उनले ‘शब्दघोष जीजिविषाको’ कथा संग्रह, ‘हङकङ डायरी’, र ‘हङकङमा कविता’ जस्ता तीनवटा पुस्तक प्रकाशित गरे । हङकङ छंदा उनी तेक्वान्दोका ब्ल्याक बेल्ट पनि भए भने पत्रकारितामा पनि सक्रिय रहे।
सन् २०१० मा बेलायत आएपछि खासगरी कोभिड समयमा उनले पेन्टिङलाई अझ तिखार्ने अवसर पाए । उनले अहिले आफ्नो वेवसाइटमार्फत व्यवसायिक चित्रकलालाई पनि अगाडि बढाएका छन् ।
हाल उनी पेन्टिङका साथै नेपाल, हङकङ र बेलायतको समसामयिक परिवेशमा आधारित उपन्यास ’निस्तब्ध कोलाज’ प्रकाशनको तयारीमा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५