सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णयको स्वागत
क्यालिफोर्निया । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा कन्सुलेट कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्को निर्णयको अमेरिकावासी नेपालीले स्वागत गरेका छन् ।
उनीहरुले नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् ।
‘मन्त्रिपरिषद्को निर्णय नेपाली नागरिकहरुका लागि विदेशमा सहजता र सुरक्षा प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम हो भन्ने विश्वास लिएका छौं’, कार्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका माधव मरासिनीले भने, ‘यो निर्णय नेपालको विदेश सम्बन्धलाई मजवुत बनाउने तथा नेपाली नागरिकहरुको हितमा काम गर्ने एक महत्वपूर्ण कदम हो । हामी विश्वास गर्दछौं कि यो कार्यालयले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुरयाउनेछ।’
स्थानीय नेपालीले यही जनवरी २२ देखि २६ मा हुने राहदानी घुम्ती शिविरमा आउने कूटनीतिक कर्मचारीलाई कन्सुलेट कार्यालय राख्ने स्थल अध्ययन गर्न पनि अनुरोध गरेका छन् ।
क्यालिफोर्निया बस्ने नेपालीले कन्सुलेट कार्यालय स्थापनाका लागि परराष्ट्रमन्त्रीसहित अन्य नेताहरुलाई आग्रह गर्दै आएका थिए ।