बिहीबार, माघ ३, २०८१
22:03 | ०३:४८

म्याग्दी महोत्सवलाई लक्षित गरेर कालीगण्डकीमा र्‍याफटिङ

रासस जनवरी १५, २०२५

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफटिङ सञ्चालन गरिएको छ ।

बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्‍याफटिङ सञ्चालन गरिएको हो ।

नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्‍याफटिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए । पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्‍याफटिङ सञ्चालन गर्दै आएका छन् ।

‘महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्‍याफटिङ सेवा प्रवाह गरेका छौँ’, उनले भने । बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति रु आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्‍याफटिङ गर्न सकिने जनाइएको छ ।

नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्‍याफटिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए । उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्‍याफटिङ सञ्चालन गर्न सकिने जानकारी दिए ।

तत्कालका लागि दुईवटा आठ–आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्धनमा र्‍याफटिङले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्‍याफटिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू