बिहीबार, माघ ३, २०८१
23:07 | ०४:५२

ब्रिटिश आर्मीमा १५ वर्ष जागिर गरेपछि समाजसेवा

नेपाली लिङ्क जनवरी १५, २०२५

भरत रोका क्षेत्री

लन्डन । बेलायती नेपाली डायष्पोरामा प्राय सबैको मानसपटलमा घुमिरहने नाम हो भरत रोका क्षेत्री । ब्रिटिश गोर्खा आर्मीमा १५ वर्ष जागिर गरेर अवकास पाएपछि समाजसेवातिर व्यस्त छन् ६२ वर्षीय क्षेत्री ।

नेपाल, नेपाली जनता र विशेष गरि राष्ट्रिय एकताको विषयले उनलाई सधैं पिरोलिइरहन्छ । नेपालमा भ्रष्टाचार व्याप्त हुंदा आक्रोशित हुन्छन् उनी, सीमा मिचिंदा उनैको मन पोल्छ ।

कर्मभूमि बेलायत भएपनि मन मस्तिष्क मातृभूमिमै छ भरत रोकाको । जन्मभूमि गोरखाको मन्दिर, खोला, चौतारो र ति घरहरु उनको आत्मा वरिपरि खेलिरहन्छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका संस्थापक भरत क्षेत्रीले सन् २००७ देखि बेलायतमा एक्लो प्रयास र खर्चमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।

राजनीतिक संक्रमणका बेला पनि क्षेत्रीले आफ्नो एकल प्रयासमा बेलायतका वुद्धिजिवी तथा दूतावास प्रतिनिधि निम्त्याएर पृथ्वी जयन्ती मनाउन छुटाएनन् । सन् २०२१ देखि त उनले आफ्नै पकेटबाट वर्षेनी एकजना बुद्धिजिवीलाई एक लाख रुपैयांको पृथ्वी पुरस्कार प्रदान गर्न शुरु गरे ।

अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयांको पुरस्कार दिने गरेका छन् ।

३०० औं पृथ्वी जयन्तीबाट शुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीलाई होटल एल्लो पगोडा, काठमाडौंमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका तत्कालिन उपकुलपति संस्कृतिविद डा. जगमान गुरुङले दिएका थिए ।

दोश्रो पुरस्कार राजनीति विश्लेषक डा. राजेश अहिराज र तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेतलाई पृथ्वी नारायण शाह जन्मेको ठाउं गोरखा पोखरीथोक बजारस्थित गार्डेन रेष्टुरेन्टको गोरखनाथ सभाहलमा एक कार्यक्रम गरि क्षेत्री आफैंले हस्तान्तरण गरेका थिए ।

यस वर्षको चौंथो पुरस्कार बर्दिया गुलरिया निवासी सामाजिक अभियन्ता समाजसेवी कमलराज पौडेलले पाएका छन् ।

गोरखा जिल्ला पालुन्टार नगरपालिका ३ सिमडेनीमा जन्मिएका हुन् भरत । त्यति बेला दौडेर राजा हुने चलन थियो । जसले चेपे खोलाबाट दौड शुरु गरि लिगलिगकोट पहिला पुग्छ उही एक वर्षका लागि राजा हुने चलन थियो । क्षेत्री त्यही सेरोफेरोमा 
हुर्किए ।

स्कुल पढ्दा पृथ्वी जयन्ती मनाएको स्मृति उनको मानसपटलमा अझै ताजा छ । त्यति बेलाको नेपाल को नक्सा र एक राजाको फोटो उनको कलिलो मानसपटलमा गहिरोसंग बस्यो । पौष २७ गते राष्ट्र निर्माता नायक पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक छुट्टी र विद्यालयमा कार्यक्रम हुन्थ्यो । सो अवसरमा कसैले कविता भन्थे, कसैले जीवनी सुनाउथे । आफू सानो छंदा शुरु शुरुमा पौष २७ गते विद्यालय छुट्टी हुने खवरले खुशी हुन्थे उनी । तर, विस्तारै बुझ्न थालेपछि उनलाई पौष २७ गतेको महत्व झन् बढ्दै गयो ।

भरत क्षेत्रीले डुम्रे निमावि, अमर ज्योति मावि लुईंटेल हुंदै सौभाग्यदय मावि अल्काटारबाट एसएलसी गरे । बन्दीपुर क्याम्पसबाट आइएसम्मको अधयन गरेपछि उनी ब्रिटिश सेनामा होमिए । अवकासपछि उनी प्यासेन्जर बोक्ने पानीजहाजमा ८ वर्ष काम गरे । कामकै सिलसिलामा दुईपटक वर्ल्ड क्रुज गरेका उनले समुन्द्रले छोएका प्राय देशहरु घुम्ने मौका पाएर संसार कहां कस्तो छ भन्ने नौलो अनुभव बटुल्न पाए ।

भूतपूर्व गोर्खाहरुको आन्दोलनबाट प्राप्त आवासीय अधिकार पाएर भरत क्षेत्री सपरिवार सन् २००५ मा बेलायत आए ।

नेपालमा २०६२-०६३ को जनआन्दोलनपछि कथित विदेशी शक्तिको उक्साहटमा केही राजनैतिक पार्टी र तिनका संगठनहरुले ठाउँमा ठाउँमा पृथ्वी नारायण शाहको सालिक तोडे, सरकारी बिदा खारेज गरे, सरकारी कार्यालयहरुबाट फोटो हटाउन निर्देशन दिए ।

तर, सालिक तोडेर देश विकास हुने थिएन । नेपालका बुद्धिजीवी, इतिहासविद, संस्कृतिविद र राजनीतिक दलका केही नेताहरुले २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छोड्न नहुने दृढ संकल्प लिए । गणतन्त्रपछि नेपाली सेनाले सबै राजाहरुको फोटो हटाए पनि पृथ्वी नारायण शाहको फोटो हटाउन मानेन र जंगी अड्डामा आज पनि पृथ्वी नारायण शाहको पूर्ण कदको फोटो जो कसैले देख्न सक्छ ।

भरत रोकाले पनि बेलायतमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने विचार गरेर सन् २००७ बाट सुरु भएको उक्त कार्यक्रम हालसम्म छ । क्षेत्री नेतृत्वको संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले २८९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पारेर २०६७ साल पौष २७ गते नेपाली सेनाका अवकासप्राप्त प्रधानसेनापति रुक्माङ्गद कटवालको प्रमुख आतिथ्यमा ‘पृथ्वी जन्म जयन्ती र राष्ट्रिय एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित भव्य कार्यक्रम गरयो ।

साउथ इष्ट लन्डनस्थित लन्डन कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सभाकक्षमा भव्यताका साथ कार्यक्रम भएको थियो । उक्त कार्यक्रमका लागि धेरै जनाले गोप्य रुपमा सहयोग गरेपनि खुलस्त रुपमा बाहिर आउन चाहेनन् । समाजका केही अगुवा व्यक्तिहरु अतिथीको आसन ग्रहण गर्न डराएर आउन सकेनन् । तर, आममानिस उल्लेख्य रुपमा सहभागी भएका थिए ।

भरत रोका (३६) ब्रिटिश आर्मीमा

भरत रोकाको भनाइमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै शाह वंशीय परिवारका लागि मनाइएको होइन । नेपाल र नेपाली भन्ने दुईवटा मूल पहिचान र जात–जाती, भाषा भाषी देशको गहना हो भन्ने ठान्छन् उनी ।

नेपाल सरकारले पौष २७ गते पृथ्वी जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा पुनः सुरु गरेपनि स्कुल, कलेज र विश्वविद्यालयका पाठ्यपुस्तकमा यसलाई समावेश गरिनुपर्ने उनको जोड छ । हामीले हाम्रो इतिहास बचाउन सकेनौं भने हामीहरुको नेपाली भन्ने परिचय नै सदाका लागि लोप हुन सक्ने चिन्ता उनलाई छ ।

अहिले समयले कोल्टे फेरेको छ । हाल देशका विभिन्न ठाउंमा पुनः सालिक बन्दै गएका छन् भने सरकारले पनि उक्त दिन विदा दिएको छ । बेलायतमा समेत पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको लोकप्रियता बढेको अनुभूति हुंदैछ ।

राष्ट्र र राष्ट्रिय एकताका सिपाही भरत क्षेत्रीको प्रयास सधैं सार्थक र सफल बनोस् हामी सबैले कामना गरौं ।

भरत समाजसेवा र च्यारिटीमा उत्तिकै क्रियाशील छन् । एनआरएनए यूकेका वर्तमान संरक्षक क्षेत्री यसअघि गोरखा जिल्ला समाज यूकेको पूर्व अध्यक्ष भइसकेका छन् भने क्षेत्री समाज यूके कार्यसमिति, क्लव फिफ्टी यूके महासचिव, लिगलिग समाज यूके सल्लाहकार लगायत कयौं सामाजिक संस्थामा आवद्ध छन् ।

उनी हाल श्रीमति कल्पना रोका, दुई छोराहरु सेवक र सुलभका साथ लन्डन वेम्लीमा बसोवास गर्छन् ।

क्षेत्रीले पानीजहाजमा ८ वर्ष काम गरे

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू